
माघ ८, धादिङ ।
धादिङबेशी बजार व्यवस्थापनका लागि तयारी तिव्र पारिएको निलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनु भएको छ ।
दिनप्रतिदिन बजार अव्यवस्थित बन्दै गएका कारण व्यवस्थापनको तयारी तिव्र पारिएको उहाँले बताउनु भयो । नीलकण्ठ नगरपालिका र स्थानिय प्रशासन, धादिङ उद्योग वाणिज्य संघको सकृयतामा बजार व्यवस्थापन गर्न लागिएको हो । २०७४ साल माघ ११ गतेवाट धादिङवेसी मुल सडक दायाँ वायाँ कुनैपनि सवारी साधन पार्किङ गर्न नपाउने र वजार क्षेत्र भित्र रहेका घरको सटरभन्दा वाहिर कुनैपनि सामान राख्न नपाउने उहाँले बताउनु भयो ।
त्यसैगरी धादिङवेसी वजार क्षेत्रको ट्राफिक समस्यालाई समाधान गर्न वजार क्षेत्रको चापलाई मध्यनजर गरी पार्किङको सुविधा गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बोद नाथ दुवाडिले बताउनु भयो । बाइक तथा गाडिहरु पार्किङको लागि विचबजार स्थित खेलकुद विकास समितीको जग्गा व्यवस्था गर्ने , त्यस्तै पुछारबजारमा नगरपालिकाको मातहतमा पनि जग्गाको व्यवस्था गर्ने अन्य स्थानमा आवश्यकता अनुसार पार्किङ व्यवस्था गर्ने उहाँले बताउनु भयो ।
केहि दिनअघि धादिङवेसी वजार व्यवस्थापन सम्वन्धमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोदनाथ दुवाडीको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना, उपप्रमुख मनराज भण्डारी, जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरीप्रमुख ध्रुवराज राउत लगायतको उपस्थितिमा संयुक्त वैठक बसेको थियो ।
बैठकले वजार क्षेत्र भित्र मालवाहक सवारीसाधनले हरेक दिन विहान ९ः०० देखि १०ः३० वजे सम्म र दिउँसो ३ः३० देखि ५ः०० वजे सम्म सामान लोड अनलोड गर्न नपाउने र सामान लोड अनलोड भईरहेको अवस्थामा समेत सो समयअवधि भित्र सामान लोड अनलोड नगर्ने तथा उक्त गाडीको पार्किङ खुल्ला मञ्चमा गर्ने वा व्यवसायी आफैले व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
घर वनाउने निर्माण सामाग्रीका कारण सडक अव्यवस्थित र फोहोर भएकोले सामान अनलोड भएको २४ घण्टा भित्र सडकवाट सो सामान हटाउनुपर्ने र उक्त सामानका कारण सडक फाहोर भएमा सामान राख्ने व्यक्तिलेनै पुर्णरुपमा सडक सफा गर्नुपर्ने लगायतका निर्णय तय भएको थियो ।