
माघ १८-
देश संघीय संरचनामा गइसकेपछि आज पहिलोपटक प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा आज बस्न लागेको हो । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ ।
बैठकदिउँसो १ बजेबाट हेटौंडाको सभागृहमासुरु हुने प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो ।पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गर्नुहुनेछ । यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसक्नुभएका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो । बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनुहुनेछ ।
हिजो साँझ ३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बैठक बसी उक्त कार्यसूची तय गरिएको हो ।आजका पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुने जनाइएको छ । अन्तरिम कार्यविधिभित्र बैठक सञ्चालन, सभामुखको काम, कर्तव्य र अधिकार, संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति गठन गर्ने, प्रदेशसभा सदस्यको आचारसंहितालगायत विषय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पहिलो प्रदेशसभा बैठक भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक÷एक जना नेतालाई बोल्न दिनेसमेत कार्यसूची रहेको बताइएको छ । आजको बैठकमा सभामुख चयनको प्रस्ताव पेस गरेपछि ज्येष्ठ सदस्य पौडेलले माघ २९ गते सभामुख चयन गर्ने तिथि बैठकबाट तोक्नुहुनेछ । प्रदेशसभाका कूल १ सय १० जना सदस्यका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्टाइएको संसद् सचिवलायले जनाएको छ ।