भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ आइतबार मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको निरीक्षण पश्चात् शुक्लागण्डकीमा निर्माण व्यवसायीलाई निर्देशन दिनुहुँदै । तस्बिर: कृष्ण न्यौपाने/रासस

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको खण्डमा अहिलेसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ ।

यो खण्ड आउँदो पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ साल जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

Facebook Comments