प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठककमf प्रधानमन्त्री सुशीला कार्की । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चुनावको तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

चुनावको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले हिजो देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गर्नुभएको थियो । तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने बताउनुभएको थियो ।

Facebook Comments