
म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी/बालुवा प्रयोग गरिएको भन्दै जनप्रतिनिधिले ढलान भत्काइदिएका छन् ।
दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पीसीसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो ।
योजना अनुगमनका लागि हिजो झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरलगायतले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाउनुभएको हो ।
स्थानीयवासीन्दाले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा पीसीसी ढलानका क्रममा माटो मिसिएको मसला प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाख रुपैयाँमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले कामदारले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पीसीसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाउनुभएको छ ।