
काठमाण्डाैको गैरीगाउँको काठ गोदाममा लागेको आगो निभेको छ । ईश्वर कार्कीले सञ्चालन गरेको गैरीगाउँको काठ गोदाममा रहेको टहरोमा ठूलो आगलागी भएसँगै नजिकमा रहेको लोयला सेकेन्डरी स्कूलमा पनि आगोले क्षति पुर्याएको छ ।
६ वटा दमकलले आगो निभाएको काठमाण्डौ महानगरको विपद् व्यवस्थापन विभाग प्रमुखसमेत रहनुभएका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार स्कूलको प्रिफ्याफ भवनमा समेत आगलागी हुँदा भवनको संरचना र कागजातहरू नष्ट भएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको छ । आगलागीबाट के–कति क्षति भएको भन्नेबारेमा पूर्ण विवरण आउन एक/दुई दिन लाग्ने जोशीले बताउनुभयो ।
साँघुरो गल्लीका कारण सिनामङ्गलबाट छिर्ने दमकलहरू बाटो साँघुरो भएर छिर्न सकेको थिएन । आगलागीबाट धुवाँको मुस्लो निस्किएपछि त्रिभुवन विमानस्थलको उडान केहीबेर प्रभावित भएको छ ।