
अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ भएको छ । पशुपतिनाथबाट शुरू भएको यो यात्रा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर पुगेर समापन हुनेछ ।
आफ्नो प्रकाश आफैँ बन भन्ने गौतम बुद्धको सूत्र वाक्य बोकेर यात्रामा निस्किएको अप्प दीपो भवः यात्री सिलवालले बताउनुभयो । यात्राका क्रममा स्थानीय विद्यालय, स्थानीय पालिका, धार्मिक केन्द्र, आध्यात्मिक आश्रम, सामाजिक सङ्घ–संस्थासँगै विभिन्न क्षेत्रका व्यक्ति–व्यक्तित्वसँग साक्षात्कार तथा अन्तरक्रिया पनि हुनेछ ।
यात्रामा निस्कनुअघि ‘अप्प दीपो भवः’ का लेखक समेत रहेका सिलवालले यो हिमालयबाट मधेशसम्मको यात्रा रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो किताब ‘अप्प दीपो भवः’ को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक गर्ने कार्यक्रम पनि छ ।
यसअघि तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको राेमाञ्चक यात्रा समेटिएको यो किताबको पहिलो संस्करण तिब्बतको ल्हासामा रहेकाे प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको थियो ।
लाङटाङ सद्भावनादूत समेत रहेका लेखक सिलवालका ‘अप्प दीपो भवः’ बाहेक यात्राका मीठामसिना समेटिएको ‘श्रीलङ्का स्मृति’ र संसारशिर सगरमाथा आधारित भुइँतिर फर्किएको ‘एभरेस्ट : एन अनफिनिस्ड स्टोरी’ लगायत प्रकाशित छन् ।