८ फागुन
इजरायल – २७ फेबु्रअरी, २०२६ शुक्रबारका दिन साँझ शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसार विशेष कार्यक्रम गर्ने भएको छ । शेर्पा तथा हिमाली बौद्ध धर्मालम्बीहरुको राष्ट्रिय पर्व २१५३ औं (मे फो त ल्हो) (घोडा) वर्ष ग्याल्पो लोसरको अबसरमा साँस्कृतिक साँझ तथा शुभकामना आदान – प्रदान कार्यक्रम गर्न लागेको हो ।
“विश्व भरी छरिएर रहेको सम्पूर्ण शेर्पाहरुको एकता धर्म, कला, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धन आजको आवश्यकता” भन्ने मूल नारा सहित ल्होसर कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सहभागिताको लागि इजरायलमा स्थापित विभिन्न सामाजिक, राजनितीक संघ – संस्था, मिडियाकर्मी सहित इजरायलमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाइ सहभागीताको लागि अनुरोध गरेका छन् ।

ल्होसर कार्यक्रममा शुभकामना आदान – प्रदान सहित शेर्पा समुदायको मौलिक तथा साँस्कृतिक नृत्य सहित स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुतीहरु रहने शेर्पा संघ इजरायलका संरक्षक ल्हक्पा लामा शेर्पाले जानकारी दिनुभयो । साथै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि शेर्पाले बताउनुभयो ।
यस पर्वलाइ शेर्पा समुदायले नयाँ वर्षको रुपमा भव्यताका साथ मनाउने गर्दछन् । यस अबसरमा शुभकामना आदान – प्रदान गर्ने, गुम्बा दर्शन सहित पुजा पाठ गर्ने, लामा गुरुबाट आर्शिवाद लिने गर्छन । त्यसै गरि मिठो मसिनो खानेकुराहरु खाई आफ्नो परिवार, आफन्त, इष्टमीत्रहरुसँग बसी हर्सोल्लासकासाथ यो पर्व मनाउछन् ।
यदाखारुचिम १५ तेल–अभिव, इजरायलमा हुने ग्याल्पो ल्होसर साँस्कृतिक साँझ तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली दुतावास इजरायलका प्रमुखको प्रमुख आतिथ्यता रहनेछ भने नेपाल आदिवासी जनजाति महासंघ (नेफीन) इजरायलको विशेष आतिथ्यता रहनेछ । सन् २०१० मा स्थापना भएको शेर्पा संघ इजरायलले हरेक वर्ष ल्होसर पर्व भव्यताकासाथ मनाउँदै आएको छ ।