मलेखु (धादिङ), ११ फागुन :
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै दुर्घटनामा परेको यात्रु बस । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस त्रिशुली नदी किनारमा खसेको हो । दूर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
तस्बिर : शंकर श्रेष्ठ/रासस
धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अस्ति आइतवार बेलुका पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा बेलायती, भारतीय र चिनियाँ एक/एक सहित १९ जनाको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार १४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
