
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मुरलीभञ्ज्याङले धादिङको सदरमुकाम धादिङबेसीमा “वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम”को आयोजना गरेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड मुरलीभञ्ज्याङ शाखाका शाखा प्रबन्धक सुजन प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २०७० सालदेखि बचत तथा कर्जाको कारोबार गर्दै आइरहनुभएको केन्द्र नम्बर ४ का केन्द्र प्रमुख सृजना गुरुङको प्रमुख आतिथ्यता तथा त्यस्तै अनुगमन कार्यालय बट्टार, नुवाकोटका अनुगमन अधिकृत रविन्द्र प्रसाद कंडेलको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा शाखा प्रमुख प्याकुरेलले प्रगति समीक्षा विवरण र यस आर्थिक वर्षमा शाखाबाट वितरण भएको सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि सिर्जना गुरुङले वित्तीय साक्षरता अभिवृद्धि भएमा व्यक्तिको आर्थिक अवस्था मजबुत हुने उल्लेख गर्दै सबैलाई जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गर्नुभयो।
यस्तै अनुगमन कार्यालय बट्टार, नुवाकोटका अनुगमन अधिकृत रविन्द्र प्रसाद कंडेलले बचतको महत्व, ऋणको सही सदुपयोग, वित्तीय अनुशासन तथा आय–व्यय व्यवस्थापन सम्बन्धी जानकारी गराउनुभएको थियो । कार्यक्रमकै अवसरमा उत्कृष्ट ४ वटा केन्द्रहरूलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक चन्द्र मोक्तान लगायत विभिन्न केन्द्रबाट करिब १९० जनाको उपस्थित रहेको थियो ।