धादिङको गल्छी गाउँपालिका–४ मस्टारस्थित पृथ्वी लोकमार्गबाट लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौंबाट कपिलवस्तुतर्फ जाँदै गरेको यात्रुबाहक बसमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरी टोलीले २०८२ चैत २६ गते राति करिब १० बजे लुम्बिनी प्रदेश ०१–००१ ख ०८७३ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ दोभानखर्कका २६ वर्षीय आकाश तामाङ र २४ वर्षीय हरि तामाङ रहेका छन्।

प्रहरीले उनीहरूको साथमा रहेका चार वटा झोलाबाट ३१ पोका लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको तौल ३१ किलो ४०० ग्राम रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत धादिङबाट १५ दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय गजुरीबाट घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

Facebook Comments