२०८३ कार्तिक ३०, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज बडा दशैँ अन्तरगत महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

आज बडा दशैँ अन्तरगत महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा दशैँ घर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ ।

आजका दिन काठमाण्डौ उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्याका भक्तजन पुग्ने गर्छन् ।

त्यसैगरी उपत्यका बाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायतका शक्तिपीठमा पूजापाठ गर्ने भक्तजनहरुको बिहानैदेखि घुइँचो लाग्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको हो ।

हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।
भोलि बुधबार दशैँको मुख्य दिन विजयादशमी मनाइन्छ । टीकाको उत्तम साइत भोलि बिहान १० बजेर २६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरिनेछ । यसअघि हिजो र अस्ति दुई दिन अष्टमी तिथि परेको थियो ।

असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा अस्ति गरिएकोमा राज्यको तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा गएराति गरियो । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानकाअनुसार हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल