२१ साउन ।
धादिङ – रोगले थलिएको ५ वर्षिय छोरा । त्यहि छोराको उपचारमा भौतारिदैमा थाकेकी पविता । मौलाउदै गरेको रोग र पिर, दुब्लाउदै गरेको आमा छोरा । उनीहरु भोक र रोगबाट तङ्ग्रिने आशमा छन् । खाने गाँस र बस्ने बास मात्र होइन दुई मुठी सास जोगाउन हम्य छ । दिनानुदिन रोगले थलिदै गरेको छोराको उपचारका लागि सहयोग माग्न नपुगेको ठाउँ छैन । पविता भन्छिन् ‘डाक्टरले उपचार हुन्छ भन्छ । म सँग उपचार खर्च छैन । अब कि भगवान भरोसा हो, कि कसैले सहयोग गरिदिए मात्रै छोरा बचाउन सकुँला ।’

धादिङको सिद्धलेक गाउँपालिका २ नलाङकी पविता दुवाडी अहिले विरामी छोराको उपचार खर्च जुटाउन दौडधुपमा छिन् । २९ वर्षिय पविताको ५ वर्षिय छोरा पवन दुवाडी बोल्न सक्दैनन् । २८ पुष २०७५ सालमा बोलेरो गाडी दुर्घटनामा परी आमा छोरा घाइते बनेको पविता बताउँछिन् । दुर्घटनामा परी घाइते भएपनि बाहिरी चोट थिएन । उनले भनिन ‘तर दुर्घटना भएको अलि पछि छोरा बोल्नै सकेन । हिडडुलमा पनि समस्या आयो । मानसिक असर पनि प¥यो । न राम्रोसँग हिड्न सक्छ न बोल्न । छोरामा देखिएको समस्याले छाँगाबाट खसेजस्तै भएँ ।’ उनले भनिन् ।

छोराको उपचारका लागि पविता वडा कार्यालय, सिद्धलेक गाउँपालिका, नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायत नपुगेको कुनै ठाउँ छैन । उनी भन्छिन् ‘छोरा बचाउने अन्तिम विकल्प मिडिया रोजेर आएको हुँ । मिडियाबाट प्रचार भए सहयोग जुटेर मेरो छोरा बचाउन सक्थेँ कि । तँपाईहरुको सहयोगले मेरो छोरा बाँच्न सक्छ । सहयोग गरिदिनुस् न है ।’ गहभरि भरिएको आँसु पुछ्दै उनले सहयोग मागिन् ।

पावनको उपचारमा यति नै खर्च लाग्छ भन्ने यकिन छैन । पविता भन्छिन् ‘पहिले न्यूरो अस्पतालमा उपचार गराएको हो । उपचार हुन्छ भनेको छ । तर सिटिस्क्यान एमआरआइ, थेरापी लगायतको उपचार गर्न करिव ५० हजार लाग्छ भनेको छ । उपचार गर्दै जादा कति लाग्छ थाहा छैन । तर ४ सय नभएको मलाई ४०/५० हजार धेरै ठूलो रकम हो, म कसरी जुटाउँ । घर खेत बेचौैं आफ्नो नाममा छैन । न जागिर व्यवसाय छ । बेलैमा उपचार नगरे ठूलै समस्या आउन सक्छ भनेको छ । उठ्नै नसक्ने गरि थलिएको मलाई मेरो छोराको उपचार गर्न सहयोग गरिदिनुस् न है ।’ उनले आग्रह गरिन् ।

छोराको उपचारमा भाौतारि रहेकी पवितालाई परिवारको साथ नभएको बताउँछिन् । श्रीमान ईश्वर दुवाडीलाई जाँड रक्सी खाने लत लागेको छ । उनले भनिन जाँड रक्सी खाएर जहिले छोरा र मलाई पिट्नु हुन्थ्यो । जहिले झगडा गरेर गाउँ बस्न दिनु भएन । मर्छु र मार्छु मात्र भन्नु हुन्थ्यो । कहिले सेफ हाउस त कहिले माइति बसेर ज्यान जोगाएँ । अहिले त श्रीमान पनि सम्पर्क विहिन हुनुहन्छ । व्यूटिपार्लर गरेँ, ठेक्का लिएर गाइ पालेँ तर परिवारकै कारण व्यवसाय चौपट भयो ।’ उनले भनिन् ।

छोराको उपचार मात्र होइन । बस्ने बास र खाने गाँसको पनि ठेगान छैन । उनी भन्छिन् ‘बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता छ । अहिले मलाई ढुङ्गा खाउँ कि माटो खाउँ भएको छ । गाउँ छाडेपछि घरको न घाटको भएको छु । छोराको उपचार गर्न कस्सिएको म समस्याको भूमरीबाट उम्कन सकेको छैन । ज्याला मजदुरीले एक पेट खान धौ धौ छ । छोरालाई लालनपालन र उपचारको चिन्ताले न दिनमा भोक छ, न रातमा निद । छोराको उपचार सफल भएको दिन मेरो जीन्दगीको सबैभन्दा ठूलो खुषीको दिन हुनेछ ।’ उनले भनिन् ।

Facebook Comments