मेरो बाबुले मोबाईल खेलाउन नपाउँदासम्म राम्रोसँग खाना खाँदैन, मेरो नानीले मोबाईल नहेरी बस्नै सक्दिन, मेरो बाबु होमवर्क गर्दा पनि मोबाईल हेर्ने गर्छ, मेरो नानी स्कुलबाट फर्केपछि कपडा नफेरी सोझै मोबाइल हेर्न थाल्छे, मोबाईल साथमा भएन भने सुत्दै सुत्दैन, ……………… यी र यस्ता धेरै गुनासा अहिले धेरैले सुन्दै र भोग्दै आएका साझा गुनासा हुन । स्कुल जाने बालबालिका मात्र होइन स्कुल जाने उमेर नभएका अथवा भनौं १/२ बर्षका बालबच्चालाई पनि अहिले मोबाईल हेर्ने, मोबाईल खेल्ने लत लागेको देखिएको छ, भोगिएको छ । मोबाईल देखाइदिँदा बच्चा चुप लाग्छ, खेल्छ, भुलिन्छ तर एकिछिन मोबाईलबाट टाढा राख्दा बालबच्चा रुन थालिहाल्छ । मोबाईल देखाइदिँदा खाना खपाखप खान्छ, नत्र खानै मान्दैन अहिले सबैको साझा भोगाई हो । अथवा भनौं अहिले बालबच्चा खानाविना एकछिन खपेर बस्न सक्ला तर मोबाईल विना एकछिन पनि बस्न सक्दैन ।
कुरा बालबालिकाको मात्र होइन, अहिले मोबाईलको लत विस्तारै बृद्धबृद्धा र प्रौढ उमेरका मानिसमा पनि शुरु भएको छ । पहिला पहिला घरायसी काममा व्यस्त हुने बा, आमा, काका काकी, दाई भाउजु, दिदि भिनाजु, मामा माइजु सबै सबै अहिले मोबाईलमा धेरै समय विताउने हुनुभएको छ । युवायुवतीको कुरा नगरौं । अथवा भनौं अहिले के बालबच्चा, के बालबालिका, के युवायुवती, के प्रौढ के बृद्धबृद्धा सबैलाई मोबाईलले भुलाएर राखेको छ ।
अहिले बजारमा छ्यासछ्यास्ती आएका स्मार्ट मोबाइल फोनले हरेक घर घरमा सजिलै प्रवेश पाएको छ । एकै घरमा व्यक्ति व्यक्तिका मोबाईल फोन, त्यो पनि स्मार्ट फोन । फोन मात्रले भएन अहिले अनुहार हेरेर कुरा गर्न मिल्ने किसिमको स्मार्ट फोन चाहियो । हामी देख्न सक्छौं कि काम गर्दा, बाटो हिड्दा, स्कुल जाँदा, कार्यालय जाँदा हर ठाउँमा मोबाईल प्रयोग, मोबाईल प्रयोग मात्रले पुगेन अहिले सामाजिक सञ्जालमा उतिखेरै फोटो खिचेर पोष्ट गर्न हतारो छ । खाना खाँदै गरेको अवस्था, स्कुल जाँदै गरेको अवस्था, कार्यालयमा आज, मन्दिरमा यसो, यात्रा गर्दै, विदेश जानुपरेको अवस्था, के के हो के के अनेकथरी लेखेर फेसबुकमा फोटो हालेको देख्न पाइन्छ ।
मोबाइल प्रयोग राम्रो पनि हो, समय अनुसारको प्रविधि प्रयोग गर्नु राम्रो कुरा पनि हो । यसबाट देश विदेशमा भइरहेको नविनतम चासोका विषय, विभिन्न समाचार विभिन्न घटनाक्रम सजिलै थाहा पाइन्छ पनि । देश विदेशमा भएका आफ्ना नातेदार आफन्तजनसँग प्रत्यक्ष कुराकारी, सन्चोविसन्चो घरमै बसिबसि जानकारी लिनदिन सकिन्छ । खवरहरु आदनप्रदान गर्न सकिन्छ । सुचना तथा सन्देश आदनप्रदान गर्न सजिलो र छिटो पनि भएको छ ।
फाइदा पनि धेरै छ । राम्रो नियतले यसको प्रयोग गर्दा यसका फाइदा धेरै छन् । तर पछिल्लो समयमा यसको प्रयोग फाइदा भन्दा पनि हानि धेरै भएको हो कि जस्तो लाग्न थालेको छ । टिकटक बनाउन लाग्दा खाना डढेको, सेल्फि खिच्न लाग्दा चिप्लिएर नदिमा लडिएका, भिरबाट लडेका, बाइक कुदाउँदा दुर्घटना भएको, यस्ता अनगिन्ति घटना हामीले प्रत्यक्ष देख्दै र भोग्दै आएका पनि छौं । यति हुँदा पनि हामीमा चेत आएको छैन ।
त्यतिमात्र होइन माथि शुरुमै भनिए जस्तै मोबाइल विना बालबालिकाले खाना खाजा नखाएका, विद्यालय जान नमानेका, गृहकार्य नगरेका घटना हाम्रै घरमा देखिन थाले । अझ बालबालिकालाई बाबु, नानी यो काम गर न भन्दा एकछिन है, म मोबाईलमा यो हेर्दैछु, हेरिसकेपछि गर्छु । अथवा मलाई काम गरेपछि मोबाईल हेर्न दिने भएमात्र गर्छु भन्ने जस्ता गतिविधि त हामीले घरमै दिनहु भोग्दै र खेप्दै आउन थाल्यौं । यस्तो सम्म कि मोबाइल नदिएकै कारण कुनै दुर्घटना घट्ने त होइन भन्ने शंका उत्पन्न गराउने सम्मको अवस्था आयो अहिले । यो त भयो अहिलेको मोबाईलले भित्र्याएका हाम्रा दैनिक गतिविधी र समस्या । यी र यस्ता गतिविधी फेरी त्यतिकै आएको होला भन्नुहोला, होइन, यस्ता गतिविधि आउनुमा हामी सबै भागिदार छौं । तपार्इं हामीले माने पनि नमाने पनि, तपाईहरु रिसाए रिसाउनुस्, हामी आफैले गर्दा यस्ता गतिविधि बढ्न गएका हुन् ।
तपाई हामी घरमा एकछिन फुर्सद हुँदा मोबाइल खोलिहाल्छौं, चाहिएको नचाहिएको आवश्यक परेको, आवश्यक नभएको सबै गतिविधि हामी आफ्ना बालबालिकाको अगाडि नै मोबाईलबाट गरिरहेका हुन्छौं अनि बालबालिकालाई चाहिँ मोबाइल दिन हुन्न भन्छौं । तपाईले उनीहरुकै अगाडि मोबाइल खेलेपछि उनीहरुले किन मोबाइल नखोज्ने ? यसमा हाम्रो नै कमजोरी छ । हामी मोबाईल हेर्दै यसो गर बाबु, यसो गर नानी भन्छौं । अनि बालबालिकाले पनि भन्छ म पनि मोबाईल हेर्छु, मोबाईल दिने भए काम गर्छु, मोबाईल दिनेभए गृहकार्य गर्छु अथवा यति पढिसकेपछि मलाई मोबाईल चाहिन्छ । हरेक काममा बालबालिकाले मोबाईल सर्त राखिरहेका हुन्छन् ।
समस्या यतिमा नै सकिएको छैन अझ अहिले त बालबालिकाले के सम्म भन्न थालेका छन् भने परिक्षामा मेरो यति नम्बर आयो भने मलाई राम्रो मोबाइल चाहिन्छ । लुगा राम्रो चाहिँदैन अहिले, खाना मिठो चाहिँदैन अहिले मात्र मोबाइल राम्रो चाहिने जमाना आएको छ । यी र यस्ता समस्याको कारण हामी आफैं भएका नातले यसको समाधान पनि हामी आफैंले खोज्नु जरुरी छ । खोज्नु पर्छ पनि ।
हामीले मोबाइल सञ्चालनको लागि दिने समय, हामीले गर्ने प्रयोगमा कमि ल्याऔं भने अथवा चाहिएको काममा मात्र हामीले मोबाइलको प्रयोग गर्न थाल्यौं भने अहिले देखिएको समस्यामा केही कमि आउला होइन भने समस्या समाधानको साटो झन बढ्दै जाने निश्चित देखिन्छ । हामीले आजैबाट समस्या समाधानमा केही पहल शुरु गर्न सक्यौ भने विद्यालयमा शिक्षकलाई मेरो नानी बाबुले मोबाईल धेरै हेछै भन्नुपर्दैन, साथीभाई, छरछिमेकीलाई पनि यस्तो भयो उस्तो भयो भन्नुपर्ने अवस्था नआउन सक्छ । ढिला होला तर राम्रो हुन्छ भने किन नगर्ने हैन त ।