नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ धादिङका उम्मेदवार धनबहादुर घलेले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ।

जिल्लाको दीगो, सन्तुलित र समावेशी विकासलाई केन्द्रमा राख्दै उहाँले विभिन्न क्षेत्रगत कार्यक्रम अघि सार्नुभएको हो।
उम्मेदवार घलेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा राष्ट्रिय स्वाधीनताको रक्षामा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै मुलुकलाई स्थिरता, सुशासन र समृद्धितर्फ डोर्याउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो। भूकम्पपछिको पुनर्निर्माण, राष्ट्रिय गौरवका आयोजना अघि बढाउने कार्य, नयाँ नक्सा जारी, मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्ग निर्माणलगायत उपलब्धि एमाले नेतृत्वमा सम्भव भएको उहाँको दाबी छ।

उहाँले धादिङको समग्र विकासका लागि पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। आवश्यकता र सम्भाव्यताका आधारमा ग्रामीण सडक कालोपत्रे, पक्की पुल निर्माण तथा अव्यवहारिक सडक मापदण्डको पुनरावलोकन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। औद्योगिक विकासका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरिने उहाँको भनाइ छ।
कृषि तथा पशुपालनको व्यवसायीकरण र बजारीकरणलाई जोड दिँदै स्थानीय उत्पादनको ब्रान्डिङ, कृषि बीमा, सिँचाइ व्यवस्थापन र कृषि पर्यटन प्रवर्द्धन गरिने उल्लेख गर्नुभयो। उब्जाउ जमिनको पूर्ण सदुपयोग गर्ने नीति लिइने उहाँले स्पष्ट पार्नुभयो।

जिल्लाभित्र रहेका गुठी जग्गासम्बन्धी समस्या समाधान गर्ने, साना जलविद्युत् आयोजनामा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा बुढीगण्डकी जलविद्युत आयोजना शीघ्र कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने उहाँको प्रतिबद्धता छ।
प्राकृतिक स्रोतको सदुपयोगतर्फ लक्षित गर्दै गणेश हिमाल क्षेत्रका खानी तथा धातुहरूको अध्ययन, उत्खनन र बजारीकरणका लागि नीतिगत व्यवस्था गरिने तथा रूवीभ्याली क्षेत्रका पत्थर र जडीबुटीको पहिचान र प्रवर्द्धन गरिने बताउनुभयो। पर्यटकीय क्षेत्रको विकास, खर्क र गोठ व्यवस्थापन, भेडा तथा चौरी संरक्षण र स्थानीय भाषा, संस्कृति तथा मौलिक पहिचानको संरक्षणमा विशेष जोड दिइने प्रतिबद्धता छ।

सामाजिक सुरक्षालाई सुदृढ बनाउने, समावेशी विकासलाई प्राथमिकता दिने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने उहाँले उल्लेख गर्नुभयो। शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि, स्वास्थ्य बीमामार्फत सबै नागरिकलाई सेवा पहुँच, ‘एक घर एक धारा’ अभियानअन्तर्गत स्वच्छ खानेपानी उपलब्ध गराउने तथा विद्यालय शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउने योजना अघि सारिएको छ।

त्यसैगरी सबै पालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण, राष्ट्रिय मापदण्डअनुसार खेलमैदान निर्माण तथा युवाका लागि सीप विकास केन्द्र सञ्चालन गरिने बताइएको छ। स्थानीय उद्योग प्रवर्द्धन, सहुलियत कर्जा तथा उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्ने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ।उम्मेदवार घलेले प्रस्तुत नीतिका आधारमा योजनाहरू तर्जुमा गरी कार्यान्वयनमा लैजाने दृढता व्यक्त गर्दै मतदातासँग सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ।

Facebook Comments