धादिङ प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाको आधारमा बेनिघाट रोराङ गाउँपालिका–१ स्थित जोगीमारा क्षेत्रमा यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा ७८ हजार ४ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड (५० मिलिग्राम) बरामद गरिएको हो।

वीरगञ्जबाट बनेपातर्फ जादै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसलाई रोकि जाँच गर्दा बसमा सवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३ निवासी ४१ वर्षीय मोहन प्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवीको साथबाट उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बोकेको जेब्रा झोलाभित्र रबरले बेरेर पोका बनाएर राखिएको अवस्थामा ७ हजार ८ सय ४० स्ट्रिपमा प्याक गरिएको १०–१० क्याप्सुलका दरले जम्मा ७८ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो। बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमार्फत मुद्दा दर्ता गरिएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले लागूऔषध ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन्।

Facebook Comments