
कात्तिक ८ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गर्नुभएको छ ।
सभापति देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्याउनु भएको योगदानको पनि स्मरण गराउनुभयो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता बास्तोलाको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा बोल्दै उहाँले नेपालको राजनीति, समाजसेवा र कुटनीतिक क्षेत्रमा वास्तोलाले देखाउनु भएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिनु भएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेता बास्तोलालाई अद्भूत क्षमताका भएका नेताको रुपमा पनि स्मरण गराउनु भयो । उपसभापति निधिले नेता बास्तोलाले भारतसँगको सीमा समस्या समाधानसम्बन्धी लिनु भएको अडानको पनि तारिफ गर्नु भएको थियो ।
मस्तिष्क घातका कारण थलिनुभएका नेता बास्तोलाको गएको असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गर्नु भएको थियो । नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।