मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेका टोलीमा १४ तथा वैकल्पिकमा चार जना रहेका छन् ।

टिममा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतोसहित विन्दु रावल, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रुवी पोद्दार, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी छन् । त्यस्तै वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद छन् ।

क्यानका अनुसार यो टोलीले यही मे २३ देखि ३१ सम्म मलेसियामा हुने ‘एशियन गेम्स महिला छनोट–२०२६’ र त्यस लगत्तै जुन १ देखि १३ सम्म हुने ‘एसीसी महिला प्रिमियर कप–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ थियो ।

शरण गुरुङको उपचारमा रास्वपा नीलकण्ठ नगरपालिका ९ नम्बरको वडा ईकाईको सहयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नीलकण्ठ नगरपालिका ९ नम्बर वडा इकाई कमिटिले शरण गुरुङ बचाउ अभियानमा आर्थिक सहयोग गरेको छ ।

अप्लाष्टि एनिमिया रोगबाट पिडित नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका गुरुङलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले कमिटिका सदस्यहरुबाट सहयोग रकम संकलन गरेको वडा उपसभापति प्रकाश थापा मगरले जानकारी दिनुभयो ।

संकलित सहयोग रकम १५ हजार ५ रुपैयाँ बिरामी शरण गुरुङको बैंक खातामा जम्मा गरिएको उपसभापति मगरले बताउनुभयो । यतिबेला शरण गुरुङको उपचारको लागि विभिन्न संघ संस्था तथा सहयोगी व्यक्तीहरुले सहयोग गरिरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र धादिङ इन्टरनेशनल कार्गो सर्भिसबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड शाखा कार्यालयल धादिङ र धादिङ इन्टरनेशनल कार्गो सर्भिस (धादिङ कुरियर सेवा) बीच सेवा सहकार्य सम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच आज सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहक, डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ता, बैंकको एनआईएमबी स्मार्ट प्रयोगकर्ता तथा कर्मचारीहरूले धादिङ इन्टरनेशनल कार्गो सर्भिस मार्फत अन्तर्राष्ट्रिय तथा आन्तरिक कुरियर सेवामा विशेष छुट पाउनेछन् । सम्झौताअनुसार धादिङ इन्टरनेशनल कार्गो सर्भिसले ५ केजीसम्मका अन्तर्राष्ट्रिय कुरियर सेवामा ५ प्रतिशत छुट, २० केजीसम्म १० प्रतिशत छुट तथा आन्तरिक कुरियर सेवामा पनि १० प्रतिशत छुट उपलब्ध गराउनेछ।

साथै धादिङ इन्टरनेशनल कार्गो सर्भिसले बैंकमार्फत सामाजिक सञ्जाल, इमेल, एसएमएस लगायत माध्यमबाट आफ्ना सेवाबारे जानकारी प्रवाह गर्न सहकार्य गर्नेछ। त्यसैगरी, बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई उक्त सुविधाबारे जानकारी गराउने, आफ्ना कार्यालय, वेबसाइट, एटिएम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने र कार्गो सर्भिसका योजनाहरू ग्राहकसम्म पु¥याउने सम्झौता भएको छ ।

५ वर्ष सम्मको लागि भएको सम्झौतामा दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण गर्न सकिनेछ भने आवश्यक परे ३० दिनको लिखित सूचनासहित कुनै पनि पक्षले सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ । सम्झौतामा एनआईएमबी बैंकको तर्फबाट शाखा प्रबन्धक सुबास अर्याल र कार्गाे सर्भिसका तर्फबाट प्रबन्ध निर्देशक प्रेम बहादुर नेपाल क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।

यस सहकार्यले बैंकका सेवाग्राहीलाई सहज र सुलभ कुरियर सेवा उपलब्ध गराउने विश्वास गरिएको छ । धादिङ इन्टरनेशनल कार्गो सर्भिसले नेपाल लगायत विश्वकको जुनकुनै देशमा पनि थोरै शुल्कमा सामान पठाउदै आएको छ ।

धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले शरण गुरुङको उपचारको लागि आर्थिक संकलन गर्दै

धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले अप्लास्टिक एनिमिया जस्तो गम्भीर रोगबाट पीडित शरण गुरुङको उपचारका लागि “शरण गुरुङ बचाउ अभियान” सञ्चालन गरेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–९ काफलपानी निवासी २३ वर्षीय शरण गुरुङ गम्भीर रोग अप्लाष्टिक एनिमियाबाट पीडित भई हाल जीवन र मृत्युको संघर्षमा रहेका छन्। परिवारका अनुसार शरणको उपचार नेपालमा सम्भव नभएकाले विदेशमा उपचार गर्नुपर्ने अवस्था रहेको छ। तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ठूलो चुनौती देखिएपछि यतिबेला धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले विभिन्न संघ–संस्था, विदेशमा रहेका नेपाली तथा शुभेच्छुकहरूलाई आर्थिक सहयोगका लागि अपिल गर्दै अभियान सुरु गरेको धादिङ तमू समाज काठमाण्डौं उपत्यकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताउनुभयो ।

विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग समेत गर्न थालेको उहाँले बताउनुभयो । परिवारका अनुसार शरणको उपचारका लागि नेपालका विभिन्न अस्पतालहरूमा प्रयास गरिए पनि अपेक्षित सुधार हुन नसकेपछि थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आएको छ । उपचारका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ खर्च हुने परिवारले बताएको छ ।

धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले गम्भीर रोग लागेका बिरामीहरुको उपचारमा विगतमा पनि सहयोग गर्दै आएको छ ।

NRNA इजरायलको आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

इजरायलमे १ अर्थात, १३७ औं अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलको आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इजरायली समयअनुसार शुक्रबार दिउँसो २ बजेदेखि करिब ४ः ३० बजेसम्म कार्यक्रम भएको थियो ।

गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दुतावास इजरायलका कार्यवाहक राजदुत ओम कुमार भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा NRNA अन्र्तराष्ट्रिय समितिका अध्यक्ष हेमराज शर्मा र सामाजिक सुरक्षा कोषका प्रमुख प्रशिक्षक एवं निर्देशक डा.रोशन कोजुको विशेष आतिथ्यता रहेको थियो । यसका साथै कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, युरोप क्षेत्रीय संयोजक तथा सदस्यहरु, विभिन्न देशका NCC प्रमुखहरुका साथै इजरायलमा स्थापित विभिन्न सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रमुख प्रशिक्षक डा.रोशन कोजुले विशेष गरि वैदेशिक रोजगारिको शिलशिलामा प्रवासमा रहेका नेपाली श्रमीकहरुलाइ सामाजिक सुरक्षा कोषको आवश्यकता, महत्व र फाईदाको विषयमा प्रकाश पार्नुभएको थियो । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बहन गर्नुपर्ने विभिन्न जोखिमहरुको पहिचाहनसँगै आर्थिक रुपमा सुरक्षित भविष्यको लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुनुपर्ने बताउनुभएको थियो ।

प्रोत्साहन स्वरुप सामाजिक सुरक्षा कोष सम्बन्धी भर्चुअल कार्यक्रममा सहभागीहरु मध्येबाट लक्की ड्र आयोजना गरि १० जना सहभागीलाइ भाग्यशाली विजेता घोषणा गरेको थियो । विजेताहरुलाइ प्रोत्साहन स्वरुप सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने एक महिनाको न्युनतम रकम २ हजार ५ सय सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिदिने गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलका महासचिव चित्र कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलले कार्यक्रममा सक्रिय सहभागी भई, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएको थियो । गैर आवासीय नेपाली संघ इजरायलले वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका श्रमीकहरुको हक, हितको लागि विभिन्न समयमा यस्ता किसिमका रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

राष्ट्रपति पौडेलद्वारा थप ३ वटा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ आज जारी गर्नुभएको हो ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिवार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको थियो ।

सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले सम्म ५ वटा अध्यादेश जारी गर्नुभएको छ । सवैधानिक परिषद् सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ ।

काठमाण्डौका नदी किनारका सबै अतिक्रमित बस्तीमा डोजर चल्ने

काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली गराउने जनाएको हो । काठमाण्डौ जिल्लाभित्र नदीकिनारका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा समेत अतिक्रमण गरी अनाधिकृत रुपमा बसोबास भई आएका र त्यस्ता बस्ती तथा संरचना क्षेत्र खाली गर्ने प्रशासनले जनाएको छ ।

काठमाण्डौ महानगरको वडा–३ खाडीपाखा, नारायणटोल र रानीबारी, वडा–४ को बालुवाटार र धुम्बाराहीको बस्ती, वडा–१० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा–११ को वंशीघाट, वडा–१४ को जागरणमार्ग, वडा–१५ को स्वयम्भु, वडा–१६ को बुद्धज्योति र जागृतिमार्ग, वडा–२६ को संगम टोल, वडा–२९ को अनामनगर र वडा–३२ को जडीबुटी मिलनचोकमा डोजर चलाउने तयारी छ ।

डोजर चलाउन लागिएका केही ठाउँमा माइकिङ समेत गरिएको छ । ती क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ काम तत्काल गर्न भनेको छ । आज बेलुकासम्म पूर्ण रुपमा घर टहरा खाली गर्नुपर्ने र वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति तथा परिवारलाई सरकारले तत्काल व्यवस्थापन गरेको ठाउँमा बसोबासको व्यवस्था मिलाइने उल्लेख छ ।

यसअघि सरकारले थापाथाली, गैरीगाउँ (शान्तिनगर) र भक्तपुरको मनोहरा बस्तीमा डोजर चलाएर खाली गरिसकेको छ । यी ठाउँमा झण्डै २ हजार घरटहरा तथा संरचना भत्काइएको छ भने झण्डै १० हजार मानिस प्रभावित भएका छन् ।

धादिङमा प्रारम्भिक निर्णायक (रेफ्री) तालिम हुने

धादिङमा कबड्डी खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रारम्भिक निर्णायक (रेफ्री) तालिम हुने भएको छ । धादिङ जिल्ला कबड्डी संघले तालिमको आयोजना गरेको हो । संघले इच्छुक व्यक्तिहरूलाई सहभागिताका लागि आवेदन दिन आग्रह गरेको छ।

संघका अनुसार धादिङ जिल्लाका १३ वटै पालिकाबाट प्रत्येक पालिकाबाट २/२ जना सहभागी छनोट गरिनेछ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो पालिकाको सिफारिससहित नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। तालिममा कबड्डी खेलका नियम, निर्णायकको भूमिका, व्यवहारिक अभ्यास तथा आवश्यक सैद्धान्तिक विषयहरू समावेश गरिने जनाइएको छ। तालिम अवधिभर अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाउनुपर्नेछ भने सफलतापूर्वक तालिम पूरा गर्ने सहभागीलाई प्रारम्भिक निर्णायक प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ। तालिम शुल्क ८ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सहभागीका लागि खाना तथा बसोबासको व्यवस्था आयोजकले गर्ने भए पनि यातायात खर्च भने सहभागी स्वयंले व्यहोर्नुपर्नेछ। नाम दर्ता धादिङ कबड्डी संघको कार्यालय वा सम्बन्धित पालिकामार्फत गर्न सकिनेछ। संघले तोकेको म्यादभित्र नाम दर्ता तथा शुल्क बुझाउन अनिवार्य गरिएको छ। 

नाम दर्ताको अन्तिम मिति २०८३ साल वैशाख १७ गते सम्म तोकिएको छ। तालिम सञ्चालन मिति भने २०८३ वैशाख १८, १९ र २० गते निर्धारण गरिएको छ। तालिम स्थल पछि जानकारी गराइने संघले जनाएको छ। सम्पर्कका लागि रत्नेश कुमार यादव ९८१०२०६९६१ र मनिष श्रेष्ठलाई ९८६९२१३४६१मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको ज्यान गयो : ८४ जना घाइते

इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेल ठोक्किएर भएको दुर्घटनामा १४ जनाको ज्यान गएको छ । ८४ जना घाइते भएका छन् ।

राजधानी जकार्ता नजिकै भएको दुर्घटनामा उद्धारकर्ताले भग्नावशेषमा फसेका जीवित व्यक्तिलाई निकाल्ने काम गरिरहेका छन् । दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पुगेर पीडित तथा घाइतेलाई भेट्नुभएको छ ।

जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीका दुई रेलहरू ठोक्किँदा दुर्घटना भएको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको राष्ट्रिय यातायात सुरक्षा समितिका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।