३२ औं संस्करणको टोकियो ओलम्पीक आजदेखी सुरु हुँदै ।

 


एजेन्सी । ८ साउन
विश्व खेलकुदको कुम्भमेला उपनामले चिनिने ३२ औं संस्करणको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता आजबाट सुरुहुँदैछ । जापानको राजधानी टोकियोमा यस वर्ष विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक खेल आजदेखि औपचारिक रुपमा सुरु हुन लागेको हो । नेपाली समय अनुसार आज दिउँसो ४ बजेर ४५ मिनेटमा उद्घाटन समारोह हुनेछ । उद्धघाटन समारोहको मार्च पासमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाली खेलाडीहरु सहभागी हुनेछन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।
यस संस्करणको टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका सरस्वती चौधरीका साथै वाईल्ड कार्डबाट छानिएका सुटिङ खेलाडी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोक्योमा प्रतिस्पर्धा गर्दैछन् । टोकियो ओलम्पिकमा पुगेकी गौरिका सिंहको यो लगातार दोस्रो ओलम्पिक सहभागिता हो । टोकियो ओलम्पिकमा यसपटक नेपालबाट जाने पाँच जना मध्ये चार महिला खेलाडी छन् । एक मात्र पुरुष प्रतिस्पर्धी छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन २०५ देशका ११,३२४ खेलाडी सहभागी हुँदैछन् । ३३ खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । सहभागी देशका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापानको राजधानी टोकियो पुगिसकेका छन् । जापान सरकारले यस प्रतियोगीताका कारण कोरोना संक्रमणको असर नदेखियोस भनेर स्वास्थ्य सुरक्षाका मापदण्डमा निकै कडाइ गरिएको छ । यसै बीच कोरोना महामारीका कारण ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । गत वर्ष पनि कोरोना जोखिमकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना संक्रमणका कारण दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुने अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।

सूचनाको प्रभाव : धादिङ पिडामा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आए

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ पिडामा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आएका छन् ।

नाम ठेगाउन बताउन नसक्ने मानसिक सन्तुलन ठिक नभएकी वृद्धा विगत एक हप्तादेखी पिडामा देखिनुभएको थियो । धादिङ अपडेट डटकम अनलाईन लगायतका मिडियाहरुमा वृद्धा फेला परेको सूचना समाचार प्रकाशन प्रशारण भएपछि वृद्धाको आफन्त सम्पर्कमा आएको दिपक मिजारले जानकारी दिनुभयो ।

ति वृद्धा सिद्धलेक गाउँपालिका नलाङ घर भएकोे र उहाँको बुहारी र अरु आफन्त सम्पर्कमा आएपछि बुधबार जिम्मा लगाएर पठाएको मिजारले बताउनुभयो ।

कोरोना अपडेट धादिङ : ६५ जना संक्रमणमुक्त, २९ जनामा संक्रमण पुष्टि

धादिङमा बुधबार थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार धुनिबेसी नगरपालिकामा ५, रुबिभ्यालिमा गाउपालिकामा १५ र धादिङ्ग हस्पिटलमा ९ गरेर बुधबार जिल्लामा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

६० जनाको एनटीजेन परिक्षण मध्ये २९ जनामा पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । योसँगै जिल्लाको सक्रिय संक्रमित ५९२ पुगेको छ ।

संक्रमितमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा १८ र होम आइसोलेसनमा ५५७ रहेका छन् । यस्तै बुधबार ६५ जना संक्रमणमुक्त भएका छन् ।

श्याम सितल एनआरएनए जापानको सचिवमा निर्वाचित

चर्चित गायक तथा संञ्चारकर्मी श्याम कुमार श्रेष्ठ (श्याम सितल) एनआरएनए जापानको सचिवमा निर्वाचित हुनुभएको छ ।

आफू निर्विरोध सचिवमा निर्वाचित भएको श्याम सितलले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो । एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप दुई जनाको मात्रै सचिव पदमा उम्मेदवारी परेको थियो ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको सचिब पदमा निर्वाचित हुन पाएकोमा खुशी व्यक्त गर्दै साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिनुभएको छ । धादिङका गंगाजमुना गाउँपालिका घर भई जापान बस्दै आएका राजकुमार अधिकारीले उपाध्यक्ष पदमा र नेत्रावती डवजोङका कृष्ण खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

एनआरएनए जापानको जुलाई २७ मा हुने उक्त निर्वाचनका लागि ९ हजार ३ सय मतदाता छन् । धादिङवेशीं घर भएका श्याम सितल  १ दशकदेखि जापानमा बस्दै आउनुभएको छ ।

आज मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आजमनाइदैछ । मुस्लिम समुदायले देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक बकर इद मनाउदै छन् ।

पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी जानकारी दिनुभयो ।

काठमाडौँमा रहेको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

धादिङमा कोरोना संक्रमितको संख्या बढ्दो, मंगलबार मात्रै एक सय जनामा कोरोना पुष्टी

धादिङमा मंगलबार थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गजुरीमा १८, बेनिघाटमा २१, गंगाजमुनामा १३, ज्वालामुखीमा ३,त्रिपुरासुन्दरीमा १२, धादिङ्ग हस्पिटलमा ३३ गरेर १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार १२८ जनामा एनटीजेन परिक्षण गर्दा ५० जनामा पोजिटिभ आएको छ ।

योसँगे धादिङमा सकृय संक्रमितको संख्या ६२८ पुगेको छ । संक्रमितहरु जिल्लामा हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा १८ र होम आइसोलेसनमा ५९३ रहेका छन् । यस्तै मंगलबार ६० जना संक्रमणमुक्त भएका छन् ।

शिक्षकहरुका लागि संञ्चालित पाठ्यक्रम प्रवोधिकरण एवम् विषयगत तालिम मंगलबार सकियो

सदरमुकाम धादिङवेशींमा साउन १ गतेदेखी संञ्चालित पाठ्यक्रम प्रवोधिकरण एवम् विषयगत तालिम मंगलबार सकिएको छ ।

पाठ्यक्रम परीवर्तन भइरहदाँ र शिक्षकहरुलाई नयाँ पाठ्यक्रमको सहजीकरण गर्न सहज होस् भन्ने उद्देश्यले निलकण्ठ नगरपालिकाको शिक्षा शाखाले तालिमको आयोजना गरेको हो । कक्षा ६ र ८ को पाठ्यक्रम परिवर्तन भएकोले पाठ्यक्रम प्रवोधिकरण तालिमको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ती मेघनाथ कोइरालाले जानकारी दिनुभयो ।

तालिममा विषयगत शिक्षकहरुलाई परेको समस्या, र समधानका उपायका बारेमा छलफल भएको थियो । कोभिडपछि विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्ने अवस्था भएमा शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रममा कसरी शिक्षण गर्ने थाहा नहुदा समस्या हुने हुदाँ तालिमको संञ्चालन गरेको स्रोत व्यक्ती कोईरालाले बताउनुभयो । तालिममा नया परीवर्तित पाठ्यक्रम अनुसार प्रावीधिक, सिप र विधिहरुको प्रयोग गर्ने र विद्याथीहरुलाई समय सापेक्षित शिक्षण सिकाई गर्नु पर्ने उहाँले बताउनुभयोे ।

अङग्रेजी, विज्ञान, गणित, नेपाली र सामाजीक विषयलाई आधार मानेर सञ्चालन गरीएको तालिममा नीलकण्ठ नगरपालिकाका कक्षा ६ र ८ का ४० वटा विद्यालयका प्रत्येक दिन फरक फरक विषयका ४० जना विषय शिक्षकहरुको सहभागीता रहेको थियो ।

सार्वजनिक यातायातको भाडा र पेट्रोलियम पदार्थको मृल्यबृद्धि घटाउन ने.वि. संघ नीलकण्ठ क्याम्पस इकाईको अपिल

साउन १ गतेदेखी धादिङका यातायात व्यवसायीहरूले बढाएको सार्वजनिक यातायातको भाडा र पेट्रोलियम पदार्थको मृल्यबृद्धि घटाउन नेपाल विद्यार्थी संघ नीलकण्ठ क्याम्पस इकाईले अपिल गरेको छ ।

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समायोजन गरेपछि धादिङका व्यवसायीहरुले बढाएको भाडादर तत्काल घटाएर पुरानै भाडादर कायम राख्न नेपाल विद्यार्थी संघ नीलकण्ठ क्याम्पस इकाईलेले विज्ञप्ती मार्फत अपिल गरेको हो ।

धादिङका यातायात व्यवसायी संघ सस्थाले अवैज्ञानिक, असन्तुलित र मनोमानी रूपमा गरिएको भाडा वृद्धि प्रति नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाई घोर आपत्ति प्रकट गर्दछौ। तत्काल भाडा वृद्धि फिर्ता नगरेमा ने वि संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाई कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौ ,अध्यक्ष कविराज श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

पेट्रोलियम पदार्थको मुल्य र यातायातको भाडादरमा वृद्धिले दैनिक उपभोग्य वस्तुको मुल्य समेत बढ्ने भएकाले जनताको जीविका र विद्यार्थीको दैनिक जीवन कष्टकर बन्ने भएकोले पेट्रोलियम पदार्थको मुल्य र भाडादरमा गरिएको वृद्धि फिर्ता लिन आग्रह गरिएको विज्ञप्तीमा भनिएको छ ।

यसअघि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पनि समायोजित भाडादर फिर्ता लिन विज्ञप्ती मार्फत आग्रह गरिसकेको थियो ।



यता यातयात व्यवसायीले भने २८ प्रतिशत बृद्धि भएको भाडादर कामय हुनुपर्ने माग राख्दै मंगलबारदेखी अनिश्चित समय सम्मका लागि यातायात बन्द गराएका छन् ।

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समायोजन गरेपनि एउटै प्रदेशभित्र चल्ने र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन । तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाडौबाट छुट्ने सबै रुटको भाडा आफुखुसी २८ प्रतिशतले बढाएका थिए ।

 

प्रवासमा तमू समाज सक्रिय, ईजरायल तमू समाजको अध्यक्षमा खुशी घले चयन

५ साउन,२०७८
तमू समाज ईजरायलको अध्यक्षमा खुशी घले गुरुङ निर्विरोध चयन भएको छ । यहि साउन १ गते अर्थात जुलाई १६ तारिक ईजरायलको तेलअभिव स्थित लुमि पार्क रमतगानमा सम्पन्न समाजको नवौं अधिवेशनबाट घले अध्यक्षमा चयन भएकी हुन् ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँं ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ” भन्ने मूल नाराका साथ तमू (गुरुङ) समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिक र पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै सबै तमूहरुलाइ संगठित गरी एकतावद्ध बनाउने उदेश्यका साथ प्रवासी भूमि ईजरायलमा सन् २००६ मा तमू समाज ईजरायलको स्थापना भएको थियो ।

साथै विश्वका विभिन्न देशहरुमा विभिन्न पेशा, व्यवसायमा आवद्ध तमूहरु विभिन्न संघ संस्थामा संगठित भएर सामाजिक कार्यहरु गरिरहेका छन् ।

तमू सामाज ईजारायलले आफ्नो स्थापनाकाल देखि प्रवासी भूमी ईजरायलमा रहेका सबै तमूहरुलाइ संगठित गर्ने, तमू ल्होच्छार लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, विभिन्न समस्यामा परेका नेपालीहरुको लागि सामाजिक तथा आर्थिक सहयोग गर्ने, साथै आफ्नो मातृभूमी नेपालमा विभिन्न समयमा आएको विपत्त र महामारीको समयमा पनि विभिन्न किसिमका सामाजिक तथा आर्थिक सहयोगहरु गर्दै आएको छ ।

नव निर्वाचित अध्यक्ष घलेले यस सामाजिक संस्थालाइ अझै सक्रिय क्रियाशिल र यसको गरिमा उच्च बनाउन आफू सधै दृढ रहेने र यस कार्यको लागि सबैको साथ र सहयोग महत्वपूर्ण रहने बताउनुभयो ।

क्षेत्रफलको हिसाबले नेपाल भन्दा झण्डै ६ गुणा सानो देश ईजरायलले करिब ७ दशकमा विकसित र प्रविधिले सुविधा सम्पन्न राष्ट्रको नाममा विश्वमा चिनाएको छ । राम्रो आम्दानी हुने हुँदा नेपालीहरुको लागि राम्रो रोजगारीको गन्तव्य मुलुक ईजरायल बनेको छ ।

तमू समाज इजरायलका निवर्तमान अध्यक्ष ओम गुरुङको अध्यक्षता र नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष मिङमार शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले खुशी घले गुरुङको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको थियो ।

समाजको प्रथम उपाध्यक्षमा नर माया गुरुङ , द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, तृतिय उपाध्यक्षमा दुर्गा गुरुङ चयन भएको छ । त्यसैगरि महासचिवमा शान्ति गुरुङ, सचिवमा रेखा गुरुङ, सह–सचिवमा सुचित्रा गुरुङ, कोषाध्यक्षमा गायत्री गुरुङ, सह कोषाध्यक्षमा सोनी गुरुङ र महिला विभाग प्रमुखमा पशुपति गुरुङ चयन भएको छ, भने सदस्यहरुमा लिला गुरुङ, मनु गुरुङ, बिना गुरुङ, उषा गुरुङ, खुशी गुरुङ, मनश्री गुरुङ, धना गुरुङ, प्रण्य गुरुङ, बिरेन गुरुङ, अञ्जली गुरुङ र तेज माया घले गुरुङ चयन भएका छ्न ।

अधिवेशनबाट संरक्षक समिति पनि चयन गरेको छ । समितिमा डिक कुमार गुरुङ, डम्बर गुरुङ, निर्मला गुरुङ ,आशमाया गुरुङ चयन गरेको छ । साथै सल्लाहकार समितिको प्रमुखमा ओम गुरुङ र सदस्यहरुमा हरिमाया गुरुङ, रीता घले गुरुङ र मिठु गुरुङ चयन गरेको छ ।

बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।

मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो ।

उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।