
पुस २३, धादिङ ।
आधा पुरुषःआधा महिला जमिनमा हक बराबरी भन्ने नाराका साथ जिल्ला मै पहिलो पटक संयुक्त लालपुर्जा अभियान संचालन गरिएको छ । महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउने उद्देश्यले साना किसान कृषि सहकारी संस्था लिमिटेड धादिङले संयुक्त लालपुर्जा अभियान संचालन गरेको हो ।
अभियान संचालन सगैँ शनिबार धादिङको थाक्रे गाउँपालिका वडा नं ४ स्थित तसर्पूका १८ दम्पतीलाई संयुक्त लालपुर्जा वितरण गरिएको छ । युएमएनको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड धादिङले वितरण गरेको हो ।
घरपरिवारमा आपसी सद्भावना बढाई सदैव माया ममता कायम राख्ने हुनाले संयुक्त लालपुर्जा वितरण गरिएको हो । संयुक्त लालपुर्जा वितरणले महिला भएकै कारण भुमिको स्वामित्वमा गरिएको विभेद अन्त्य गर्ने विश्वास गरिएको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउन, गरीवि अन्त्य गर्न, महिलाहरुको पहिचान बढाउन र उनीहरुको आर्थिक तथा सामाजिक जिवनमा परिर्वतन गर्नका लागि संयुक्त लालपुर्जा वितरण गरिएको बताइएको छ । यसरी संयुक्त लालपुर्जा वितरण गर्नाले खाद्य सुरक्षा बढाउने, महिला हिंसामा कमि ल्याउने र भविष्यमा हुने जोखिमलाई कम गर्न सकिने भएकाले गाउँगाउँमा संयुक्त लालपुर्जा बनाउने अभियान ल्याइएको बताइएको छ ।
जग्गा÷जमिनमा संयुक्त जग्गाधनी प्रमाणपूर्जा निर्माण भएपछि महिला–पूरुषको सम्पत्तीमा बराबरी स्वामित्व हुने र कसैले एक्लै बेचविखन वा भोगचलन पनि गर्न नपाउने भएकाले खुसीसाथ पति पत्नीको नाममा संयुक्त पुर्जा बनाएको दम्पतीहरुको भनाई छ । मेहनत बराबर यसै थियो तर अव भने अधिकार पनि बराबरी भएकामा आफुहरु एकदमै खुशि भएको उनीहरुले बताएका छन् ।