पुस २७, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नं ७ मा समतामुलक संकट्टासन्नता तथा क्षमता आंकलन कार्यशाला गोष्ठि बुधबार सुरु भएको छ । विपद् जोखिम न्युनिकरण गर्ने उद्देश्यले यु के एड र आसमान नेपालको सहकार्यमा भिएसओ नेपालले तालिमको आयोजना गरेको हो ।
तालिममा आज विपद् के हो ? विपद् जोखिम न्युनिकरण कसरी गर्ने, विपद् आइसकेपछि कसरी सुरक्षित हुने भन्ने कुराको जानकारी गराइएको थियो । पौष ३० गते सम्म संचालन हुने तालिमको विपद् जोखिम न्युनीकरण सम्विन्ध काम गर्दै आउनु भएको माधवी प्रधानले सहजीकरण गरिरहनुभएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भन्डारीले विपद् जोखिम न्युनीकरणका लागि पुर्व तयारीको अभावकका कारण हामीहरु समस्यामा पर्ने गरेको बताउनु भयो ।
विपद् कसैलाई नसोधि आउने र विपद्लाई टार्न पनि नसकिने तर यसबाट बच्न विभिन्न किसिमको पूर्व तयारीहरु गर्न सकिने बताउदै आजैदेखि त्यस्ता तयारीको थालनी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै विपद् जोखिम न्युनीकरण गर्न अहिले नगरपालिकामा विपद् कोष पनि खडा गरिएको बताउनु भयो ।
समाजमा संकट्टासन्नताको अवस्था र क्षमताको विश्लेषण गरी समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको कार्ययोजना बनाएर आफुहरुले काम गर्ने गरेको भिएसओ नेपालका विपद् जोखिम न्युनिकरण तथा उत्थानशिल संल्लाहकार गार्गी प्रधानले बताउनु भयो । यसरी कार्य गर्दा विपद्बाट आइपर्ने जोखिमबाट समुदायलाई टाढा राख्न सकिने बताउदै तालिम पश्चात निलकण्ठ नगरपालिका वडा नं ७ मा जोखिम युक्त टोलको छनोट गर्ने, उक्त टोलमा भएका समस्या पहिचान गरि समाधानका पहल गर्ने प्रधानले बताउनु भयो । भविष्यमा आइपर्ने जोखिमलाई मध्यनजर गर्दै वडा नं ७ का वडा अध्यक्ष गौतमहरी अधिकारीको नेतृत्वमा २३ सदस्यीय विपद् तथा जलवायु उत्थानशील समिती समेत गठन गरिएको छ ।