फागुन ७, धादिङ ।
आज ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम आयोजना गरिंदैछ ।

नेपालमा जारी १ सय ४ बर्षे जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नु भएको थियो ।

राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्रको स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए  । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिंदैछ भने प्रदेश स्तरसँगै जिल्ला जिल्लामा पनि कार्यक्रमहरु आयोजना गरिंदैछन् ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना दिएका छन् । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलेहालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्नेमहान् वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले जारी गर्नुभएको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । साथै, उहाँले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि नागरिकमा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

Facebook Comments