असोज १६,काठमाडौं
बंगबन्धु गोल्डकपको नयाँ संस्करण आजदेखि सुरू हुँदैछ । बंगलादेशमा हुने खेलमा डिफेन्डिङ च्याम्पियन नेपालले आजको उद्घाटन खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट डिस्ट्रिक रंगशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरू हुनेछ । सन् २०१६ मा भएको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि हात परेको थियो । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि तयारी छोटो भए पनि बलियो रहेको जानकारी दिनुभयो । प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिब तीन महिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताएका छन् । यद्यपी महर्जनले एशियाकै बलियो टोलीसँग प्रतिश्पर्धा गर्नुपर्ने भएकाले केही कठिन हुने बताउनुभयो । हालै सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले बलियो मानिएका ताजिकिस्तान र प्यालेस्टाइनसँग समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

फिफा बरियातामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले गत वर्ष दुई खेलमा हार ब्यहोरेको थियो । एफसी एशियन कप छनोटको तेस्रो चरणमा नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा २–१ गोलको पराजय ब्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो । नियमित टोलीमा रहेका डिफेण्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङ बिदेशमा व्यवसायिक लिग खेलिरहेका कारण नेपाली टिममा उनीहरुको सहभागिता रहेको छैन । यी दुई खेलाडिको अनुपस्थितिका कारण नेपाली टोलीलाई असर पर्न सक्ने अनुमान गरिएको छ । अन्य खेलाडीहरु भने साफ च्याम्पियनसिपमा सहभागिता जनाएकाहरु रहेका छन् ।

Facebook Comments