
असोज २३, काठमाडौ
मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई ३३ रनमा रोक्दै ११७ रनको फराकिलो अन्तरले हराएको छ । नेपाल पहिले ब्याटिङ गर्दै दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा समेटियो । भुटानलाई सस्तैमा समेट्न नेपालका सन्दिप लामिछाने, ललितनारायण राजबंशी र बसन्त रेग्मीले ३÷३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र शरद भेसवाकरको नाममा १÷१ विकेट रह्यो । ४ ओभर बलिङ गरेका ललितले २ मेडन खेल्दै ४ रन खर्चिए भने सन्दिपले २ मेडन राख्दै ६ रन खर्चिए । ४ ओभर बलिङ गरेका बसन्त रेग्मीले १ मेडनसहित ७ रन खर्चिएर २ विकेट लिए । ४ ओभर बलिङ गरेका दीपेन्द्रले १३ रन खर्चिए । यस्तै ०.४ ओभर बलिङ गरेका शरद भेसवाकरले १ विकेट लिए । भुटानका लागि तेन्जिङ वाङचुकले सर्वा्धिक ११ रन बनाए । बाँकी भुटानका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेन । यअसघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बलमा ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मार थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । सन् २०२० मा अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन् ।