असोज २५ गते

धादिङबासीहरुले अब स्वच्छ मासुको प्रयोग गर्न पाउने भएका छन् । नीलकण्ठ नगरपालिका ८ मा पशु वधशाला निर्माण गरिएसँगै उपभोक्ताले स्वच्छ मासु प्रयोग गर्न पाइने भएको हो । जथाभावी पशु काटमार गर्दा मासुमा छिट्टै संक्रमण हुने भएका कारण बधशालामा तयार भएको स्वच्छ मासु प्रयोग गर्न पाइने भएपछि खुषी लागेको उपभोक्ताहरु बताउछन् । 
बधशालाको उद्घाटन गर्दै आगामी दिनमा बधशाला बाहिर काटमार गर्न नपाईने धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो । नियमित रुपमा अनुगमन गर्ने, सचेत गराउने, व्यापारीले कानुनलाई पालना नगरेको खण्डमा कानुनीको दायरामा ल्याउने तथा कार्वाहि गर्ने उहाँको भनाइ छ । चार्डपर्वको अवसरमा अत्यधिक मात्रामा मासुको प्रयोग गरिने हुदा स्वच्छ मासुका लागि एउटै विकल्प बधशाला रहेको उहाँले बताउनुभयो । आम उपभोक्ताको माग र अति आवश्यक रहेको वधशाला निर्माण गरिएको भन्दै धादिङबासीले स्वच्छ मासु प्रयोग गर्ने अवसरको रुपमा लिनु पर्ने उहाँको भनाई छ ।
निलकण्ठ नगरपालिकाको स्वच्छ मासु प्रवर्धन कार्यक्रम अन्तर्गत लागत साझेदारी अनुदानमा निर्माण गरिएकोे बधशालाको एक कार्यक्रम विच उद्घाटन गरिएको हो । नीलकण्ठ नगरपालिकाबाट अनुदान २७ लाख, नमल फ्रेस हाउसबाट ३१ लाख ८२ हजार ५ सय ६० गरी कुल लागत ५८ लाख ८२ हजार ५ सय ६० मा निर्माण सम्पन्न भएको टेकबहादुर गुरुङले बताउनुभयो । जिल्लामा स्वच्छ मासुको विक्रिका लागि आफुले बधशाला खोलेको सञ्चालक गुरुङको भनाई छ । पशु प्राविधिकबाट प्रमाणित, बधशालामा स्वच्छ मासु पाइने हुदा उपभोक्तालाई फाइदा पुग्ने उहाँले बताउनुभयो । थप व्यवस्थापन गर्नु पर्ने भएका कारण अझै केहि रकम लाग्ने उहाँको भनाई छ ।