
धादिङकाे ज्वालामुखी गाउँपालिका वडा नं. २ लाई हिजाे “नमूना सफा तथा स्वच्छ वडा” घोषणा गरिएको छ।
“मिसन २०८२: सफा र स्वच्छ क्षेत्र ज्वालामुखी” भन्ने मूल नारालाई आत्मसात गर्दै वडा नं. २ का ११ वटा टोलका ७३८ घरधुरीलाई सफा तथा स्वच्छ घोषणा गरिएको हो। चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित खाना तथा भान्सा, र घरआँगन सफा राख्ने जस्ता ५ व्यवहार परिवर्तनका आधारमा मूल्याङ्कन गरिएको थियो। यसका लागि निर्धारण गरिएका १५ सूचक र ४५ उपसूचकमा शतप्रतिशत मापदण्ड पूरा गरेपछि मात्र वडालाई औपचारिक रूपमा घोषणा गरिएको जनाइएको छ।
यसअघि वडा नं. १, ३, ५, ६ र ७ पनि सफा तथा स्वच्छ वडा घोषणा भइसकेका छन्। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यामनाथ दनैले ज्वालामुखी गाउँपालिकालाई पूर्ण रूपमा सफा र स्वच्छ बनाउने अभियानमा वडा नं. २ ले उदाहरणीय सफलता हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले “मिसन २०८२” लाई सफल बनाउन सबै वडा, समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सरसफाइ केवल अभियान मात्र नभई दैनन्दिन जीवनशैलीको अभिन्न हिस्सा बन्नुपर्नेमा जोड दिनुभयो।
यस अभियानमा गाउँपालिका, वडा कार्यालयहरू, खानेपानी तथा सरसफाइ समन्वय समिति, स्वास्थ्य शाखा, टोल विकास संस्था, CHF, तथा विभिन्न विकास साझेदार संस्था जस्तै वाइन टु वाटर, CTS नेपाल, फोकस नेपाल, अक्सफाम, शान्ति नेपाल लगायतको महत्वपूर्ण सहयोग रहेको थियो। गाउँपालिकाले अभियान सफल बनाउन योगदान दिने सम्पूर्ण संघसंस्था, समुदाय, विद्यालय, स्वास्थ्य संस्था, आमा समूह, स्वयंसेवक तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरेको छ।
वडा कार्यालयको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा वडा अध्यक्ष राजु लोप्पाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।