
कात्कि २३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गर्नुभएको थियो ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाउनुभएको छ । उहाँले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाउनुभएको हो । उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनुभएकाले उहाँले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाउनुभएको हो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।
टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ती पार्टि नेपालका संयोजक बाबुराम भट्टराईले दिदि थिरकुमारी पराजुली र बहिनि शोभा राज्यलक्ष्मी शाहीबाट विहान ९ः ३० बजे नै टिका लगाउनुभयो ।