कात्तिक २८ ।
आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिएको हो ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।

काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका छन् । उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लागेको थियो । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम देखिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

Facebook Comments