
कात्तिक २८ ।
नेपाली युवा क्रिकेट खेलाडीहरुलाई प्रशिक्षण दिन नेपाल आउनुभएका दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्सले नेपाली क्रिकेट प्रशिक्षकहरुलाई प्रशिक्षण दिनुभएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हिजो उहाँले प्रशिक्षकहरुलाई प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटासहित ११ नेपाली प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । रोड्सले क्रिकेटको प्राविधिक पक्ष र खेलाडीहरुको प्रतिभा कसरी पहिचान गर्ने भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर रोड्स ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ कार्यक्रमका लागि नेपाल आउनुभएको हो । रोड्सलाई नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल ल्याएको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने दश दिने प्रशिक्षणमा रोड्सले १६ र १९ वर्षमुनिका खेलाडीहरुलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा ४५ जना खेलाडी सहभागी हुनेछन् ।