मंसिर १८ ।
विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजीत गर्दै एपीएफले दोस्रो जित हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफलाई जित दिलाउन युवराज लामा र सुदिप शिख्राकारले एक एक गोल गर्नुभयो । जितसँगै एपीएफ ६ खेलबाट ७ अङ्क जोड्दै सातौँ स्थानमा उक्लिएको छ । लिगमा १ अङ्क जोडेको एनआरटी तालिकाको पुछारमा छ । यस्तै सिएमजी संकटा क्लब लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार भएको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै संकटा दोस्रो स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समै भएको खेलमा संकटालाई जित दिलाउन सरोज दाहाल र दिपेश आले मगरले एक एक गोल गर्नुभयो । जितसँगै संकटा ६ खेलबाट १५ अङ्क जोड्दै शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । लिगमा १० अङ्क जोडेको नेपाल पुलिस पाँचौ स्थानमा छ ।

Facebook Comments