
मंसिर २८ ।
पाल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको लु १ ज ५६५३ नम्बरको जिप पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा हिजो साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा तीन दिनकी सुत्केरी उनीसरा रुचाल, जिप चालक विरेन्द्र राना, यानीसरा गाहा, बुमाकुमारी दर्लामी र रेवतबहादुर जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारका लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमै मृत्यु भएको पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् ।
दुर्घटनामा घाइते तीन दिने शिशुसहित चारै जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।