
पुस १ ।
नेपाली काँग्रेस महासमितिको बैठक जारी छ । शनिबार साँझबाट सुरु भएको बन्दसत्र आईतबार बिहानबाट फेरि सुरु हुने भएको छ ।
बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश भएको छ । बिहानदेखि बस्ने भेलामा अरु तीन प्रतिवेदन पनि पेश हुनेछ । मुख्य किचलो रहेको विधान मस्यौदा पेस भएको छैन । पेश हुनुअघि शीर्ष नेताहरूले अनौपचारिक छलफल गरिरहेका बताइएको छ ।
महासमिति सदस्यहरूले प्रादेशिक स्तरमा समूह बनाएर छलफल गर्ने तय भएको छ । नेताहरूले केही बुँदामा असहमति बाँकी रहेको र त्यसमा सहमति कायम गर्ने प्रयास भइरहेको बताएका छन् । विधान मस्यौदा समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा सहमति कायम हुने र महासमितिमा पेश हुने बताउनुभयो ।
विधानमा पदाधिकारी संख्यामा सहमति भएपनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा नेतृत्व विभाजित छ । सभापति देउवा मनोनित गर्ने पक्षमा रहनुभएको छ भने सभापतिइतर समूहका नेताहरू सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा छन् । शनिबार महासमितिको उद्घाटनमा नेताहरुबीच आरोप प्रत्यारोप समेत चलेको थियो ।