माघ ७, धादिङ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकमा भाग लिन स्वीजरल्याण्डको डाभोस जाने सिलसिलामा आज कतारको राजधानी दोहा पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा.डा.रमेशप्रसाद कोईराला तथा दूतावासका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलिले डाभोसको वार्षिक बैठकका दुई सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वीट्जरल्यान्ड भ्रमण क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डावोस बैठकमा नेपालका प्रधानमन्त्रीले भाग लिन लागेको यो पहिलो पटक हो ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायतका २० सदस्यीय भ्रमण टोलि रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलिलाइ हिजो साँझ स्वीजरल्याण्ड प्रस्थान गर्नु अघि अन्र्तराष्ट्रिय विमान स्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलि माघ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Facebook Comments