इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले चौथो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले कोलकातालाई सात विकेटले हरायो ।

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७८ रन बनायो ।

शुक्रबारकाे खेलमा तीन जना परिवर्तन गरेको कोलकाताका लागि शुभमन गिलले ६५ तथा रोबिन उथप्पाले २८ रन बनाए । यस्तै आन्द्रे रसेलले ४५ रन थपे । रसेलले ४० भन्दा माथिको आँकडा पार गरेको यो लगातार छैटौँ पटक हो ।

दिल्लीले नेपाली बलर सन्दीप लामिछानेलाई बेन्चमा राखेको थियो । दिल्लीका लागि क्रिस मोरिस, कागिसो राबाडा र कीमाे पलले दुई-दुई विकेट लिए ।

जवाफमा दिल्लीले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । उसका लागि ओपनर पृथ्वी शले १४ रन बनाए । तेस्रो विकेटका लागि ऋषभ पन्त र शिखर धवनले शतकीय साझेदारी गर्न सफल भए । शिखर धवनले आक्रामक पारी खेले । दिल्लीको जितमा पुरै पारी खेलेका उनले ६३ बलमा ११ चौका र २ छक्काको मद्दतले अविजित ९७ रन बनाए । आईपीएलमा उनकाे याे उच्च स्काेर पनि हाे ।

यस्तै ऋषभ पन्त ४६ रनमा आउट भए । उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अन्तिममा कोलिन इन्ग्रामले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । उज्यालो अनलाईनमा समाचार छ ।

जितपछि सात खेलमा आठ अंक जाेडेकाे दिल्ली अंकतालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ ।

Facebook Comments