वैशाख १९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री यस्तो बताउनु भएको हो ।
ओलीले नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउँदै अहिले यो अत्यावश्यक भइसकेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्नेमा जोड दिँदै वर्तमान समयमा प्रविधि नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रूपमा प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रूपमा प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।’ प्रविधिको प्रयोगमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सजिलो हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।