कात्तिक २८, धादिङ ।
महिला र मधुमेह : स्वास्थ्य भविश्य हाम्रो अधिकार भन्ने मुल नाराका साथ आज धादिङ सहित देशैभर विश्व मधुमेह दिवश मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजना र हर्ड ईन्टरनेश्नलको सहयोगमा मधुमेह दिवश मनाईएको हो । मधुमेह दिवशको अवसरमा आज जिल्ला स्वास्थ्य कार्यलयमा मधुमेश रोगको परिक्षणका साथै परामर्श कार्यक्रम संञ्चालन गरिएको थियो ।

कार्यक्रममा मधुमेह भनेको के हो ? यो रोगबाट बच्न के के कुराहरुमा ध्यान दिनुपर्छ, लगायतका विषयमा डा.रामहरी रेग्मीले जानाकारी गराउनुभएको थियो । धादिङमा आर्थिक वर्ष २०७३/०७४ मा ३ हजार ६ सय ९६ जनाले मधुमेह जाँच गराएकोमा ४ सय ७७ जनामा मधुमेह देखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङका सुचना अधिकृत विष्णु रिजालले जानकारी दिनुभयो । मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ । मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा देखा पर्ने गरेको छ ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले भन्नुभयो, “पहिले पहिले ५० वर्ष उमेर नाघेकाहरूमा मधुमेह देखिन्थ्यो, पछिल्लो समय ३० वर्षका युवायुवती पनि मधुमेहको सिकार बन्ने गरेका छन् । ” मधुमेह विशेषज्ञ डा। भट्टराईले नेपालमा मधुमेहका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै नियन्त्रणका लागि सन्तुलित आहार तथा शारीरिक व्यायाम अपनाउन सुझाव दिनुभयो ।

विकसित देशमा देखिने मधुमेह रोग अहिले विकासोन्मुख देशमा बढ्दै गएको छ, भट्टराईले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ । ” नेपालमा करिब १० लाख मानिसमा मधुमेह रोग देखापरेको भन्दै डा। भट्टराईले मधुमेहबाट बच्न योग, सन्तुलित आहार, दैनिक एक घण्टा हिँड्नुपर्ने बताउनुभयो ।

हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो सङ्ख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ । नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन् ।

Facebook Comments