मंसिर ११, काठमाण्डौं ।
सिरहामा प्रहरी जवानमाथि गोली प्रहार गरी फरार तीन जनालाई धनुषा प्रहरीले हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सहिद नगरपालिका –१, वेमर्खीका तीन जना छन् ।

उनीहरुले आइतबार प्रहरीमाथि गोली प्रहार गरेका थिए । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षका शिवकुमार राय, २८ वर्षका मनोजकुमार राय र १८ वर्षका सुरेन्द्रकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार तीनै जनालाई सोमबार बिहान सहिन नगरपालिका २ स्थित चिरैयाचोकमा चेकजाँचको क्रममा पक्राउ गरेको हो । उनीहरुको साथबाट एकथान चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिन , १ सय ५० ग्राम व्राउनसुगर, स ५ प ९२३९ र ज ६ प ९०५३ को दुईवटा मोटरसाइकल, तीन वटा मोवाईल र त्यसमा प्रयोग हुने तीन वटा सिमकार्ड बरामद भएको जनाएको छ ।

उनीहरुलाई लागुऔषध तथा हातहतियार मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।आइतवार दिउँसो करिब २ बजेको समयमा सिरहाको पश्चिमी कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा प्रहरीमाथि गोली हानेका थिए ।

गोली लागेर ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका थिए । दुवै जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

Facebook Comments