
मंसिर १६, तनहुँ ।
कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेमा रहेको पौडेलको घरमा आज बिहान पौने पाँच बजेतिर बम विष्फोट भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका पौडेल तनहुँ क्षेत्र नम्बर २ ९क० का उम्मेदवार समेत हुनुहुन्छ ।
घरको आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ । बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । गएराति प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास नजिक र ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा पनि बम विष्फोट भएको थियो ।