
गल्छी गाउँपालिकाको शिक्षा शाखामा नेपाली कांग्रेस गल्छी गाउँपालिकाले बुधबार तालाबन्दी गरेको छ । शिक्षक नियुक्तीको विषयलाई लिएर गाउपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको हो ।
गल्छी गाउँपालिका वडा नं ८ मा अवस्थित गोगनपानी माध्यामिक विद्यालयको बालकक्षा सन्चालन गर्न आवश्यक शिक्षक नियुक्तिको लागि परिक्षा हुनु अगाबै विद्यालयका प्रधानाध्यापक रामहरि थापाले धेरै रकम दिनेलाई परिक्षामा आउने प्रश्न आउट गरिदिने प्रलोभनमा परि टेलिफोनमा भईरहेको अडियो वार्ता एक अनलाईनबाट सार्वजनिक भएको नेपाली काँग्रेस गल्छी गाउपालिकाका सभापति गोपीप्रसाद रिमालले जानकारी दिनुभयो ।

यसै विषयलाई लिएर नेपाली कांग्रेस गल्छी गाउँपालिकाले निष्पक्ष रुपमा पुन परिक्षा संचालन गरि शिक्षक नियुक्ती गर्नुपर्ने र परिक्षा संचालनको नाममा अवैधानिक काम गर्नेलाई कारबाहीको माग गर्दै गत चैत २९ गते गाउँपालिकामा निबेदन पेश गरेको थियो ।
निवेदन माथि हाल सम्म कुनै सुनुवाई नभएको र उल्टै प्रश्न आउट गरेर परीक्षामा नाम निकाल्ने शिक्षकलाई नै विद्यालयको शिक्षकमा नियुक्ती दिने निर्णय भएको भन्दै दोषी माथि कारबाही गर्न र पुन निष्पक्ष ढंगले परीक्षा संचालन गरि दक्षताको आधारमा शिक्षक नियुक्तीको माग गर्दै बुधबार गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न बाध्य भएको रिमालले बताउनुभयो । यस्तै दोषीमाथि कारबाही नभएसम्म ताला नखोल्ने समेत सभापति रिमालले बताउनुभएको छ ।