
धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा भएका शैक्षिक कार्यक्रम तथा योजनाहरु प्रभावकारी बनेको वार्षिक प्रगति समिक्षा कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङले आयोजना गरेको कार्यक्रममा धादिङको शैक्षिक अवस्था, नमुना विद्यालय, एक विद्यालय एक नर्स कार्यक्रम, सुरक्षित र स्वास्थ्य भविष्य किशोर किशोरी लक्ष्य आयोजना कार्यक्रम, साक्षरताको अवस्था, दरवन्दि मिलान, भौतिक संरचना निर्माण तथा पुनःर्निर्माण लगायत कार्यक्रमका विषयमा छलफल गरिएको छ ।
धादिङमा ५४३ सामुदायिक र ५३ वटा संस्थागत विद्यालय गरी ५ सय ९६ विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत एवम् सुचना अधिकारी कृष्ण कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै धादिङको शैक्षिक विकासमा सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो ।
यस आर्थिक वर्षमा दरवन्दी मिलान, सेवा करार सम्झौता, विद्यालय वगौचा कार्यक्रम, प्रसुती सट्टा शिक्षक व्यवस्थापन, पालिका शिक्षक दरवन्दी श्रृजना, विद्यार्थी शिक्षक विवरण अध्यावधिक कार्य, शैक्षिक अवधारण पत्र निर्माण र कार्यान्वयन, १ स्कूल १ वालविकास केन्द्र कार्यान्वयन प्रयास, विश्व महामारीको समयमा पनि विद्यालय सिकाइको प्रयास, स्थानिय तहका शिक्षा प्रमुख संग समन्वय सहकार्य र सहयोग जस्ता काम सम्झन लायक बनेको बताउनुभयो ।
शिक्षक सरुवा, शिक्षक नियुक्ति, दरवन्दी मिलान, विद्यालय समायोजन, तह÷कक्षा अपग्रेड÷घटुवा, शिक्षक नियुक्ति अभिलेखिकरण, विद्यालय भौतिक संरचना निर्माण, शैक्षिक गैर सरकारी संघ संस्था संगको सहकायर्, पुस्ताकालय, आइटी, प्रयोगशाला निर्माण कार्यक्रम जस्ता विषयमा अझै समन्वय गर्न पर्ने उहाँले बताउनुभयो । इकाइ प्रमुख यमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, शिक्षक संगठनका पदाधिकारी, विभिन्न पालिकाका शिक्षा शाखाका प्रमुखहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।