
कात्तिक २४ ।
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम ६० प्रतिशत सकिएको छ । सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रम अन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको नेपाल आयल निगमले जनाएको छ ।
रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको जनाएको छ ।
आरक्ष क्षेत्रबाट करीब पाँच हजार आठसय ८८ रुख काट्ने सहमति भएको बताइएको छ । पाइपलाइन बिस्तारका लागि आरक्ष क्षेत्रको १० किमी जङ्गल पर्छ । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँको सहयोगमा उक्त पाइपलाइनको निर्माण कार्य भइरहेको छ । भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनाउन बाँकी रहेको बताइएको छ ।