कात्तिक २७ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक, पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले निर्देशन दिइएको नेताहरुले बताएका छन् । सोडारीको बारेमा धेरै गुनासा आएकाले हटाइएको बताईएको छ । तिहारको बेला सोडारीको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।

यसैबीच,सोडारीको स्थानमा कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । नवनियुक्त सुवेदीले आजै सपथ लिनुभएको छ । सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराउनुभयो । मुख्यमन्त्री भट्टले आज नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गर्नुभएको हो । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पनि पदबाट बर्खास्त हुनुभएको थियो ।

Facebook Comments