मंसिर १ ।

मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् ।

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथैं वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्ताँैदेखिको दैनिकी अहिले पनि कायमै छ । “बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सके मात्र भात खाने हो नत्र यही उब्जने मास, भटमास, बोडीको दाल र मकैको ढिँडो खाने गरेका छौँ”, गड्यौलीटारकी ४८ वर्षीया चन्द्रकुमारी कुमाल बताउनुहुन्छ ।

गाउँमा विद्युत् छैन, डिजेलबाट चल्ने कलमा कुट्दा महङ्गो पर्ने भएकाले परम्परागत कुटानी पिसानी गर्ने जाँतो र ढिकी प्रयोग गर्दै आएको र सिँचाइ अभावमा आकाशे वर्षाको भरमा खेती गर्दै आएका छौँ भन्दै उहाँ जोड दिनुहुन्छ, “बालबालिका, युवा तथा वृद्ध जुनसुकै उमेरका हुन् यहाँका सबैको मुख्य आहारा भनेकै मकै नै हो, के गर्ने विकल्प छैन, ‘खाए मकै, नखाए भोकै’ । यहाँका मानिसलाई मात्र नभई गाईवस्तुलाई समेत मकैकै कँुडो पकाएर दिने गरिन्छ ।”(रासस)

Facebook Comments