माघ १५ ।
दैनिक उपभोग्य तरकारीमा विषादीको प्रयोग बढ्दै गएपछि दीर्घरोगीहरुको संख्या बढ्दै गएको छ । खानेलाई मात्र होईन विषादी छर्नेहरुलाई पनि यसको प्रभाव बढि देखिएको छ ।

अत्यधिक विषादीको प्रयोगले क्यान्सर,मृगौला लगाएतका दीर्घरोग लाग्ने विषादी विज्ञहरुले बताएका छन् । विषादीको प्रयोग गर्ने महिलामा बाँझोपन देखिने,पुरुषमा शुक्रकिटको अभाव हुने र शरीरका विभिन्न अंगमा असर गर्ने भएकाले सजग हुन विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली विज्ञ रामकृष्ण सुबेदीले आग्रह गर्नुभयो ।

तरकारीमा विषादी प्रयोग गरेको काभ्रेको मण्डनदेउपुरका नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । किसान राम प्यारी ढकालका अनुसार विषादी हाल्दा तरिका नजान्दा स्वास्थ्यमा समस्या देखिएको छ । १५ बर्षदेखि लगातार विषादी प्रयोग गर्दापनि हातमा पञ्जा र मुखमा माक्स अहिलेसम्म प्रयोग नगरेको ढकालले बताउनुभयो । मण्डनदेउपुरको रानीटार केदार बस्तिमा किरा मार्ने विष अथवा विषादीका कारण ५० वर्षभन्दा माथिका सबैमा मुटुको समस्या देखिएको छ ।

रोगर, ¥यापिट, नोभाननामको विषादी मण्डनदेउपुरका किसानहरुले तरकारीमा हालिरहेका छन् । मापदण्डभन्दा एकथोपा मात्रैपनि बढी विषादी राख्दा गम्भिर असर गर्छ । तर कुन तरकारीमा कुन विषादी कति हाल्नुपर्ने हो त्यसमा चासो देखिन्न । नेपालमा ६ सय ३५ मेट्रिकटन विषादी हरेक बर्ष भित्रिने गर्छ । नेपालमा १२ हजार आठसय ८७ वटा खुद्रा व्यापारीले विषादीको कारोबार गरिरहेका छन्।

असरको अध्यनपछि सरकारले १५ वटा विषादी प्रतिवन्ध गरिसकेको छ । तीन हजार ३५ किसिमका विषादी अहिलेपनि प्रयोग भइरहेका छन् । २०१७ मा भएको एक अध्यनले नेपालमा तरकारी खेतिमा प्रयोग हुने ८५ वटा विषादीले क्यान्सर हुन सक्ने देखाएको छ ।

Facebook Comments