
धादिङ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा ले रूवी भ्याली गाउँपालिका–४ स्थित पेन्तिस्या–चालीस–सेर्तुङ सडकको औपचारिक उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, उपाध्यक्ष फेलामा तामाङ, वडा अध्यक्ष समिर गुरुङ तथा पूर्वाधार कार्यालय धादिङका प्रमुखलगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले दुर्गम क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सेर्तुङ–चालिस सडकले स्थानीय जनताको दैनिकी सहज बनाउने, आर्थिक गतिविधि विस्तार गर्ने तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङले सडक विस्तारसँगै रूवी भ्यालीमा विकासको गति तीव्र हुने बताउनुभयो । उहाँले आफ्नो कार्यकालभित्र सबै वडामा सडक सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिँदै थप स्तरोन्नति र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
उपाध्यक्ष फेलामा तामाङले सेर्तुङ–चालिस सडक उद्घाटनले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।
दुर्गम बस्तीमा सडक विस्तार हुनु भनेको केवल यातायात सहजता मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै वडा अध्यक्ष समिर गुरुङले सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको यातायात पहुँच सहज हुने र बजारसँगको पहुँच विस्तार हुने बताउनुभयो । बागमती प्रदेश सरकारको बजेट विनियोजनमार्फत निर्माण गरिएको उक्त सडकसँगै रूवी भ्याली क्षेत्रमा विकासको नयाँ ढोका खुलेको स्थानीयवासीले बताएका छन् ।