विभेदकारी नीति विरुद्ध गरिएकाे हस्ताक्षर धादिङका पत्रकारले प्रधानमन्त्रीलाई पठाए

धादिङ नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दै निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापन सम्बन्धी नीति तथा परिपत्र फिर्ता लिन संघीय सरकारसँग माग गर्दै हस्ताक्षर बुझाएकाे छ ।

संविधानले सुनिश्चित गरेको मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुला अर्थनीतिको भावना विपरीत हुने गरी निजी तथा स्वराेजगार सञ्चारमाध्यमलाई असर पर्ने निर्णय र परिपत्र जारी गरेको भन्दै त्यसलाई तत्काल संकलन गरिएकाे हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएकाे नेपाल पत्रकार महासंघ जिल्ला शाखा सचिव तथा सूचना अधिकारी सन्ताेष श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास, सूचनामा पहुँचमाथिको नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहका सरकारी विज्ञापन तथा सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने विभेदकारी सरकारी निर्णयविरुद्ध सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत संकलित हस्ताक्षर बुझाइएकाे हाे ।

तमू ह्यूल छोंज धीं बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका तुल बहादुर गुरुङ निर्विरोध

तमू ह्यूल छोंज धीं (गुरुङ) राष्ट्रिय परिषद् बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका तुलबहादुर गुरुङ निर्विरोध चयन हुनुभएको छ । शनिबार धादिङबेसीमा सम्पन्न भएको तेस्रो अधिवेशनले तुलबहादुर गुरुङको अध्यक्षतामा १० सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोकका राजाराम गुरुङ, उपाध्यक्षमा चितवनका किशोर गुरुङ, महिला उपाध्यक्षमा काठमाण्डौंकी शारदा गुरुङ, सचिवमा ललितपुरकी डा.लिना गुरुङ, संगठन सचिवमा मकवानपुरका बलबहादुर गुरुङ, प्रचार सचिवमा सिन्धुपाल्चोककी पवित्रा गुरुङ, कोषाध्यक्षमा नुवाकोटका उद्धव कुमार गुरुङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा धादिङकी कल्पना तमूस्यो र चितवनका घनसिं गुरुङ रहनुभएको छ । बाँकी सदस्यहरु पछि मनोनित गर्ने तमू ह्यूल छोंज धीं (गुरुङ) राष्ट्रिय परिषद् बागमती प्रदेश समितिले जनाएको छ । अधिवेशनको तमू ह्यूल छोंज धीं (गुरुङ) राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनमान गुरुङले उद्घाटन गर्नुभएको हो ।

आज पनि सुनको भाउ घट्यो

आज सुनको भाउ घटेको छ ।

हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ५सय रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो । आज चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तमू (गुरुङ) विद्यार्थी धादिङको अध्यक्षमा प्रशान्त गुरुङ र  तमूस्यो धादिङको अध्यक्षमा जमुना तमूस्यो चयन

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको अध्यक्षमा प्रशान्त गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । धादिङबेसीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट प्रशान्त गुरुङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ गुरूङ, उपाध्यक्षमा विन्दु गुरूङ, सचिवमा विशाल गुरूङ,सह–सचिवमा शिशिर गुरूङ, कोषाध्यक्षमा सुष्मा गुरूङ, संगठन विभाग प्रमुखमा दिपिका गुरूङ, प्रचार प्रसार प्रमुखमा प्रतिभा गुरूङ, शैक्षिक विभाग प्रमुखमा मनिषा गुरूङ, भाषा साहित्य विभाग प्रमुखमा मिस्मा गुरूङ चयन हुनुभएको छ । यस्तै हिजो नै सम्पन्न भएको तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङको छैटौं अधिवेशनले पुनः जमुना तमूस्योको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अलका तमूस्यो, सचिवमा सिता तमूस्यो, कोषाध्यक्षमा कल्पना तमूस्यो चयन हुनुभएको छ ।अधिवेशनकै अवसरमा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयबाट एसईई परिक्षामा ४ जिपिएर ल्याउन सफल प्रसंशा गुरुङलाई सम्मान समेत गरिएको थियो ।

 तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमूस्योको अध्यक्षतामा सम्पन्न भएको अधिवेशन उद्घाटन समारोहमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सह–महासचिव गोपाल गुरुङको प्रमुख आतिथ्यता तथा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष पवन गुरुङ, महासचिव अनिल तमू, तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् केन्द्रिय समिति उपाध्यक्ष पार्वती तमूस्यो, नीस्लकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण गुरुङको विशेष आतिथ्य रहेको थियो । यस्तै तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकाका पदाधिकारी, धादिङबेसी तमू समाजका पदाधिकारीहरु, विभिन्न जातिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधहरुको उपस्थिति रहेको थियो।

इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कबाट गएराति पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाण्डौ ल्याएर थप अनुसन्धान भैरहेको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेका सीआईबीले जनाएको छ । ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । आजै रास्वपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाण्डौमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ ।

बैठकमा महाधिवेशनको मिति, ठाउँ, साङ्गठनिक कार्य योजना तथा समसामयिक विषयमा छलफल भएको छ ।

काठमाण्डौ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला

काठमाण्डौ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ १ गते बिहान १० बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो । आवेदन आउँदो जेठ १० गते राति १२ बजेसम्म दिन सकिन्छ । महानगरपालिकाको वेवसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित भएर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ ।

०७९ सालदेखि महानगरले संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो ।

सगरमाथाको शिखरसम्म बाटो खुल्यो

यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ ।

दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केहीबेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ ।

कम्पनीका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा उहाँसहित पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पकाे टोली अहिले बिहान १० बजेर २५ मिनेटका शिखरमा पुगेको हो । सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने टोरी टाँग्ने काम अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।

अब आरोहीहरू तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन् । यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो ।

आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन् । शिखरसम्म डोरी टाँग्ने काम भइसकेकोले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ ।

यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत १ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन भएको छ । सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ ।

अवैध सालको काठसहित ३ जना पक्राउ

धादिङ प्रहरीले अवैध रूपमा सालको काठ ओसारपसार गर्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौंदीबाट स्यादुलतर्फ जाँदै गरेको लु ३ त ८०७८ नम्बरको ट्र्याक्टरमा अवैध सालको काठ लोड गरी लैजाँदै गरेको सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गरेको थियो।

इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनिघाट धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्र्याक्टर जाँच गर्ने क्रममा अवैध रूपमा ओसारपसार गरिँदै गरेको ३३ वटा साल जातको काठ बरामद गरेको जनाएको छ। प्रहरीले बरामद काठ नापजाँच गर्दा करिब ७२.५१ क्युफिट रहेको बताएको छ।

घटनामा संलग्न रहेको आरोपमा ट्र्याक्टर चालक बेनिघाट रोराङ गाउँपालिका–५ बस्ने २३ वर्षीय सुमन परियार, सोही गाउँपालिका–७ बस्ने २८ वर्षीय भ्रदलाल प्रजा र ३६ वर्षीय शिवलाल प्रजालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद काठ तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङबेसी पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।