
नयाँ वर्ष २०८३ सालको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष भिम बहादुर दर्लामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर समुदायका अगुवा, संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव एकु थापा मगरले नयाँ वर्ष २०८३ सालले सम्पूर्ण मगर समुदायसहित आम नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी एकताको भावना थप सुदृढ बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले मगर समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवद्र्धनमा संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
त्यस्तै विशेष अतिथि तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङका पूर्वअध्यक्ष हरिशंकर गिदेल मगरले संघको संस्थागत विकासमा सबैको साझा पहल आवश्यक रहेको बताउँदै मगर समुदायको हक–अधिकार संरक्षण र सांस्कृतिक पहिचान सुदृढीकरणमा निरन्तर सक्रिय रहनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमकै अवसरमा हालै सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै संघको वार्षिक कार्यक्रम समेटिएको भित्ते पात्रो पनि विमोचन गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङका सहकोषाध्यक्ष अमर सिंह गिदेल मगरले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ वर्षको अवसरले आपसी सम्बन्ध सुदृढ बनाउँदै संगठनलाई थप एकताबद्ध र सक्रिय बनाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले मगर समुदायबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकता मजबुत बनाउन सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा लांघाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राम आले मगर, सल्लाहाकार समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल मगर संघ नेपालको मगर समुदायको हक, अधिकार, संस्कृति, र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने एक छाता संस्था हो। यसले मगर समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक दस्तावेजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। मगरहरूको भाषा भेषभूषा चालचलन धर्म संस्कृति परम्परा, संगीत नृत्य लगायतको पुस्तान्तरण दस्तावेजीकरण पनि गर्दै आएको छ ।