धादिङको गजुरी गाउँपालिका–२ रातमाटे क्षेत्रमा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले चैत २५ गते साँझ करिब ७ः३० बजे दुई वटा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार वाल्सिङबाट चालिसेतर्फ आउँदै गरेका बा.प्र.०२–०५३ प ६६९३ नम्बरको २२० सिसी पल्सर मोटरसाइकलको पछाडि राखिएको निलो रंगको सुटकेसभित्र पहेँलो टेपले बेरिएको ४ वटा पोका फेला परेको थियो। उक्त पोका खोल्दा करिब ३० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अर्को बा ६२ प १२८६ नम्बरको १५० सिसी पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ बस्ने अन्दाजी ३५ वर्षीय सञ्ज बहादुर खुलाल तामाङ र सोही स्थानका २२ वर्षीय बिरेन्द्र रुम्बा तामाङ रहेका छन्।
उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट १२ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।