तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङले आयोजना गरेको एक महिने गुरुङ भाषा शिविर तथा स्यामा घलेक बुनाई तालिम सम्पन्न भएको छ ।

तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो । तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमूस्योको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले गुरुङ भाषा, लिपि तथा सांस्कृतिक पहिचान संरक्षणका लागि यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले भाषा र परम्परागत सीप पुस्तान्तरण गर्न समुदायस्तरबाट सञ्चालन गरिने कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै स्थानीय तहबाट सम्भव सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकी अध्यक्ष जमुना तमूस्योले गुरुङ समुदायको भाषा, संस्कृति र मौलिक पहिचान जोगाउन महिला नेतृत्वमा सञ्चालन गरिएको यस प्रकारको तालिम महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले सहभागीहरूको सक्रियता र उत्साहले कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

एक महिनासम्म सञ्चालन गरिएको उक्त शिविरमा सहभागीहरूले गुरुङ भाषाको आधारभूत ज्ञान हासिल गर्नुका साथै परम्परागत स्यामा घलेक बुनाई सम्बन्धी व्यवहारिक सीपसमेत सिकेका थिए। सहभागीहरूले तालिमले आफ्नै भाषा र संस्कृतिप्रति गर्व गर्ने वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय अनुगमन तथा निर्देशन समिति सदस्य गणेश बहादुर गुरुङ, ज्वालमुखी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ, तमू ह्यूल छोंज धीं जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्याम बहादुर गुरुङ, धादिङबेसी तमू समाजका अध्यक्ष हिराबहादुर गुरुङ, तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् केन्द्रिय सदस्य सिता तमूस्यो, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं बागमती प्रदेश समिति सचिव विशाल गुरुङ, जिल्ला कार्य समिति धादिङका सचिव प्रशान्त गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

तालिममा गुरुङ भाषा सरिता तमूस्यो र स्यामा घलेक बुनाई तालिम भिम माया तमूस्योले प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

Facebook Comments