बैशाख ३०, धादिङ ।
नेपाल सरकारले गत साता गरेको निर्णय अनुसार विभिन्न कार्यालयहरू सञ्चालन गर्न पाइने, फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनलाइ प्रदान गरिएको सवारी पासका कारण उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको छ । लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिएसँगै सडकमा सवारी आवागमन बाक्लिएको छ । ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार उपत्यकामा दैनिक एक हजार भन्दा बढि मालवाहक सवारीसाधनहरु प्रवेश गरिरहेको बताउँछन् । ती सवारी साधनहरुमा प्रवेश गर्ने मानिसको संख्या तीन हजारको हाराहारीमा पुग्छ । तर ती व्यक्तिहरु कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सम्बन्धित निकाय बेखबर छन् । सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको विज्ञहरु बताउँछन् ।
यो समाचार तयार गर्दासम्ममा नेपालमा करिब १८ हजार जनामा (कोभिड १९) कोरोना भाइरसको परिक्षण गरिएकोमा संक्रमितको संख्या १९१ पुगेको छ । भने ३३ जना निको भएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार काठमाण्डौ उपत्यका उच्च जोखिमको सूचीमा छ । नेपाल सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ । यतिखेर यात्रा गर्दा कोरोनाभाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गर्ने जोखिम रहेको भन्दै जनसंख्याको अनुपातमा काठमाण्डौ उपत्यकामा संक्रमण कम देखिएको छ । तर ’मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले बताएका छन् ।
सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडान बन्द छ । काठमाण्डौ उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिएको र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरूले बताएका छन् ।
